यो पूजाले महामारी नलाग्ने, खडेरी नपर्ने प्राकृतिक विपद्बाछ गाउँलाई जोगाउने विश्वास छ। हरेक गाउँमा पाँच, सात, नौ र बढीमा ११ वर्षको अन्तरालमा जागिर पूजा गर्छन्। तर यो पटक खुरहुरियामा १९ वर्षपछि मात्रै जागिर पूजा भएको छ।
चितवन — खुरखुरे भनेर चिनिने चितवनको पुरानो थारु बस्तीमा मंगलबार बिहानैबाट चहलपहल थियो। सवा आठ बजेतिर सुरेन्द्र चौधरी आँगनमा गोबरले लिपपोत गर्दै थिए। गुरौ बभनाको निर्देशनमा उनले पूजा सुरु गर्दा थारु भेषभुषा लगाएका ६ बालिका टुप्लुक्क आए। दुई किशोर पनि डोली लिएर पुगे।
थारु समुदायमा प्रचलित ‘जागिर’ पूजाको तयारी यसरी सुरु भयो। केहीबेरमा हार्मोनियम र तबला बजाउँदै गीत गाउने टोली पनि त्यहाँ मिसियो। महिलाको भेषमा रहेका दुई पुरुष घुमीघुमी ‘झुमरा’ नाच्न थाले। गुरौले अह्राए बमोजिम केहीबेर पूजा भयो । मुख्य पूजा सुरेन्द्रको आँगनबाट पाँच सय मिटर पर राप्ती नगरपालिका–७ मा रहेको खुरहुरिया ब्रम्हस्थान मन्दिरमा हुँदै थियो। मन्दिरसम्म पुग्न अलिबेर नै लाग्यो। खुरखुरेलाई थारु समुदायले खुरहुरिया भन्ने गर्छन् ।
अघिल्लो साँझ कसैले थाहा नपाउने गरेर लुकाएको ‘जख्खिन’ गुरौले पत्ता लगाएर ब्रम्हस्थानमा गाडेपछि बल्ल जागिर पूजाको मुख्य विधि सुरु हुन्छ। लुकाएको ‘जख्खिन’ फेला पार्न कठारबाट आएका गुरौ बभनालाई केहीबेर लाग्यो । सुरेन्द्रको घरबाट डोली बोकेको टोली कन्याहरूसहित अगाडि बढ्यो।
झुमरा नाचको रमझम कायमै थियो । सबैभन्दा अगाडि थिए सेतो गञ्जी, सेतो धोती र सेतै फेटा बाँधेर बेतको लौरो टेकेका गुरौ बभना । जख्खिन पत्ता लगाउन जोखना हेर्नका लागि बाटोमा केहीबेर रोकिँदै जोडी परेवाको बली दिएर पूजा गर्दै गुरौ अगाडि बढे । उनी मकै बारी पनि छिरे, कुनै बेला बाटो छेउको झाडीमा खोजे।
ब्रम्हस्थान नाघेर अलि पर गएका गुरौ र टोली फेरि फर्किएर थाननजिक आयो । त्यहाँ गुरौले चामल मागेर जोखना हेरे । जोडी परेवा मगाएर फेरि बली दिए। अनि सरासर अगाडि बढे । बाटाबाटै केही दक्षिण लागेर पूर्व मोडिए। त्यसरी केही पर मात्रै गएका गुरौले बाटो छेउको झाडीमा साढे नौ बजे बल्ल ‘जख्खिन’ भेटाए।
जख्खिन भनेको हलोको तल्लो भाग हो, जहाँ खेत जोत्ने फाली रहन्छ। गुरौले जख्खिन भेटाएपछि सुरेन्द्रका दम्पतीले पूजा गरे। पोथी कुखुरा काटेर बली दिए। अनि त्यसलाई डोलीमा राखेर ब्रम्हस्थान तर्फ लगे। ‘अघि दुलही लिन आए जस्तो थियो अब दुलही लिएर गए जस्तो हो। गीत पनि त्यही अनुसारको हुन्छ,’ स्थानीय राधा चौधरीले भनिन्।
ब्रम्हस्थानमा जख्खिन राखेपछि नामका पछाडि पुर जोडिएको सात गाउँको माटोले पुर्न सुरु भयो। त्यसमा थारु समुदायले ‘कण्ठी भेडी’ भन्ने बालुवामा बस्ने फट्याङ्ग्रो जस्तो सानो किरा पनि चढाइयो। शिलपत ककरा अर्थात् चट्टानबाट चुहिएको पानीमा बस्ने विशेष खालको गँगटा र वनमा पाइने मुसा पनि ‘जख्खिन’सँगै त्यही खाल्टोमा पुरियो।
अनि गुरौ बभनाले ‘जागिर’ पूजा अगाडि बढाए । यो क्रममा सात जोडी परेवा, कुखुराका सात भाले र तीन पोथी, बोका, पाठी ओडारी भेडो (पोथी) र खडखडे हाँसको बली दिएको खुरहुरिया ब्रम्हस्थान मन्दिर समितिका अध्यक्ष विजय चौधरीले बताए । ‘जागिर पूजा अलि विशेष हुन्छ । खर्च धेरै लाग्ने भएकाले हरेक वर्ष गर्न सम्भव छैन । यो हरेक थारु गाउँमा परापूर्व कालदेखि चल्दै आएको हो,’ अध्यक्ष विजयले भने ।
हरेक थारु गाउँमा एउटा न एउटा ब्रम्हस्थान हुन्छ । सृष्टिकर्ता ब्रम्हा बाबाको पूजाले सबैलाई राम्रो हुने विश्वास रहँदै आएको विजय बताउँछन् । ‘जागिर पूजा भने ब्रम्हाबाबाको विशेष भोगका लागि बाचा गरे अनुसार केही वर्षको अन्तरालमा हुने गर्छ । यो पूजाले महामारी नलाग्ने, खडेरी नपर्ने प्राकृतिक विपद्बाट गाउँलाई जोगाउने विश्वास छ,’ अध्यक्ष जियले भने ।
हरेक गाउँमा पाँच, सात, नौ र बढीमा ११ वर्षको अन्तरालमा जागिर पूजा हुने गर्छ । तर यो पटक खुरहुरियामा १९ वर्षपछि जागिर पूजा भएको विजयले सुनाए । यो पूजा पहिला जमिनदारले गर्थे । खर्च र सरसहयोग जुट्न समस्या हुन थालेपछि निरन्तरता दिन कठिन हुन थालेको हो ।
‘पैसासँगै समय र सहयोगी पनि जुट्नु पर्छ । जंगली मुसा, बालुवामा बस्ने सानो किरा कण्ठीभेडी, शिलपत ककरा खोज्न फरक–फरक टोली जान्छन् । बली दिने कुखुरा, हाँस, परेवा, बोका, पाठी, भेडी पनि खोज्नै पर्यो । सात गाउँको माटो खोज्ने छुट्टै टोली हुन्छ,’ विजयले भने, ‘जागिर पूजाको अघिल्लो साँझ जख्खिन लुकाउने मात्रै हैन अरू विधि पनि हुन्छ । दुई दिन त पूजैमा व्यस्त भइन्छ । त्यसैले सबै मिलेर मात्रै सम्भव हुन्छ ।’
