अवैध रूपमा सुनका गहना बनाई बिक्री गर्ने पक्राउ

जेष्ठ ७, २०८२

ज्योती श्रेष्ठ

Arrested for making and selling gold jewelry illegally

काभ्रे — अवैध रूपमा सुनका गहना बनाई बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान ११ बजे काभ्रेपलाञ्चोक जिल्लाको  बनेपा नगरपालिका वडा नम्बर-७ स्थित परिवार नियोजन चोकमा आदिरत्न शाक्यको घर भाडामा लिई सञ्चालन गरेको मनकामना ज्वेलर्स एन्ड मेकिङ सेन्टरमा अवैध रूपमा सुनका विभिन्न किसिमका गहना बनाई बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेसमेतको टोलीले खोजतलास गरेको थियो । 

प्रहरीले खानतलासी गर्दा उक्त ज्वेलर्सका सञ्चालक भारतको पश्चिम बंगाल राज्य मदनपुर जिल्ला पसवाई ग्राम पञ्चायत दासपुर थाना घर भएका ४७ को दीपंकर मैतीको  कोठाबाट सुन जस्तो देखिने पहेलो धातुका गहना ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५ हजार ३ सय १०  र नेपाली रुपैयाँ एक लाख एक्काईस हजार पाँच बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । 

उनका अनुसार, उक्त कार्यमा संलग्न भारत पश्चिम बंगाल मेदिनिपुर निजामपुर घर भई पाँचखाल नगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय सुमन सासमोलको साथबाट २३.०८० ग्राम सुनको धातु जस्तो देखिने टुक्रा, जोतभन्साम घर भई बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय ऋषिकेश गोड्सेको कोठाबाट चाँदीजस्तो धातु ३२७.७५० ग्राम, सोही स्थानमा बस्ने २२ वर्षीय विजय घोराई र सोही स्थान पलसपाई घर भई सोही स्थानमा बस्ने ३८ वर्षीय दीपंकर साउलाई पक्राउ गरिएको हो ।

पक्राउ गरी बरामद भएका सामान र नगदसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully