चितवन — श्रीमान्ले कुटपिट गर्दा भरतपुर महानगरपालिका–१८ जगतचोकमा एक जना र भरतपुर–१९ शारदानगर हेल्थ पोस्ट बजारकी अर्की एक जना महिला घाइते भएका छन् । घाइते महिलामध्ये एक जनाको भरतपुरको सरकारी अस्पतालमा र अर्कीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न दुवै जनाका श्रीमान् गिरफ्तार भएका छन् ।
त्यसैगरी भरतपुर महानगरपालिका–२८ चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणी नदी किनारमा महिलाको शव फेला परेको चितवन प्रहरीले जानकारी गराएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार शारदानगर हेल्थ पोस्ट बजारमा हिजो आइतबार साँझ साढे पाँच बजेतिर घरायसी विषयमा झैझगडा हुँदा श्रीमान्ले हानेको ढुंगा टाउँकोमा लागेर महिला घाइते भएकी हुन् ।
भरतपुर–१८ को जगतचोकमा पनि हिजै आइतबार मध्याह्न सवा १२ बजेतिर श्रीमान्ले श्रीमतीमाथि दाउराको चिर्पटले टाउकोमा हानेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने श्रीमान्को १० वर्षदेखि मानसिक रुपमा अस्वस्थ रहेको पनि प्रहरीले जनाएको छ । त्यसैगरी सदरमुकाम भरतपुरदेखि लगभग ५५ किलोमिटर पश्चिम नारायणी नदी किनारमा महिलाको शव फेला परेको सूचना आइतबार साँझ आएको थियो । कम्मरदेखि तल र टाउको गोहीले खाएको अवस्थामा भेटिएको डिएसपी खनालले बताए ।
चितवनबाट जान टाढा पर्ने भएका कारणले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को टोली घटनास्थल पुगेको डिएसपी खनालको भनाइ छ । महिलाको शव पोष्टमार्टमका लागि कावासोतीको मध्यविन्दु अस्पताल पठाइएको छ ।
