चितवन — पानी जहाजका लागि पर्याप्त पानीको प्रबन्ध गर्न नारायणी नदीमा बनाउन लागेको संरचनाले बजार जोखिममा पर्ने भन्दै नारायणगढवासी विरोधमा उत्रिएका छन् । नारायणी लिफ्ट सिँचाइको मुहान र गौरेश्वर पशुपति मन्दिर आडमा बन्न सुरु भएको ‘स्पर’ विरोधका कारण रोकिने भएको छ ।
निर्माण व्यवसायीले दुई करोड ३९ लाख रुपैयाँमा बनाउन लागेको स्परका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
दुई वटा स्पर जेठ ३० भित्र निर्माण सक्ने गरी निर्माण कम्पनीले चैत २८ गते संघीय सरकारी निकाय पानी जहाज कार्यालयसँग सम्झौता गरेको थियो । निर्माण कम्पनीले वैशाख ३ गते काम सुरु गरेपछि स्थानीयवासी झस्किएका अमृत मस्केले बताए । धमाधम काम गर्न थालेपछि स्थानीयको विरोध पनि बढ्दै गएको थियो । योबीचमा सय मिटर लम्बाइ र दुई मिटर उचाइका दुई वटा स्परमध्ये एउटा स्पर लगभग बनिसकेको छ ।
काम रोक्न दबाब दिँदै आएका स्थानीयसँग कुरा गर्न आइतबार पानी जहाज कार्यालयका रजिस्ट्रार मणिराम भुसाल नारायणगढ आएका थिए । छलफलमा स्थानीयका कुरा सुनेपछि भुसाल काम अघि नबढाउने निष्कर्षमा पुगेका थिए । यद्यपि प्रक्रिया पूरा गरेर निर्णय लिन भने बाँकी नै रहेको छ । दीर्घकालमा त्रिवेणीदेखि देवघाटसम्म जल यातायात चलाउने उद्देश्यसहित यो योजना आएको उनले बताए पनि स्थानीयहरू विश्वस्त भएका छैनन् ।
'तपाईँहरूको योजना उता पश्चिम गैँडाकोटतिर फाटेको सानो भँगालोको पानी स्पर राखेर यता ल्याउने र हिउँदमा जल यातायात चलाउन मिल्ने बनाउने देखियो । यसरी भँगालोको पानी छेक्नु नारायणगढ बजारलाई असर पुर्याउनु नै हो,' नारायणगढ नदी आडका पुराना बासिन्दा तथा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भने । उनले गत वर्ष नारायणीमा ठूलो बाढी आउँदा बजारमा त्रास फैलिएको बताए ।
गत वर्ष नै बाढी बजार पस्ने हो कि झैँ भएको हुँदा नारायणीमा दुई–दुई वटा दुई मिटर अग्ला स्परहरू राखेपछि बाढी आउँदा बजार पस्ने डर हुने प्रधानले बताए । उनले भने, 'तपाईँहरूको प्राविधिक आकलन होला । तर तपाईँहरूले बाढी देख्नुभएकै छैन । यो वर्ष बर्खामा आउनुस्, भेल आउँदा भंगालोमा कति पानी जान्छ, यता कति आउँछ, त्यो हेरेर बल्ल डिजाइन बनाएर मात्र काम गर्नुस् । यो वर्ष काम नगर्नुस् ।'
नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सिँचाइको मुहान आडैमा स्पर राख्दा नहर प्रणाली ध्वस्त बन्ने खतरा बढेको बताए । 'गत वर्ष त हाम्रो नगरको मोटरहरू डुब्ने गरी बाढी पस्यो । अब यही स्पर लगाएर यता पानी जम्मा गर्न खोज्दा हरेक बाढीमा नहरको मुहान पानीले हिर्काउने र भत्काउने खतरा सुरु भयो,' रानाभाटले भने । उनले पनि यो काम तत्काल रोक्नुपर्ने बताएका छन् ।
'नहरको भविष्य रहँदैन । बजारलाई असर गर्दछ । नहर नभएपछि पश्चिम चितवनका हजारौँ हेक्टरमा सिँचाइ अवरुद्ध हुन्छ । त्यसैले यो काम यसरी खेलाँचीमा नगरौँ, रोकौँ । नभए हामी १० हजारौँ उपभोक्ता फिल्डमा उतारेर आन्दोलन गरेर भत्काउन आउँछौँ,' रानाभाटको चेतावनी थियो । नदी आडमै बस्दै आएका डिबी परियारले नदीलाई थोरै मात्रै पनि अवरोध गर्दा बनाइने संरचनाका कारण पानी दायाँबायाँ लाग्ने बताए ।
'यहाँ बाढी आए सबैभन्दा पहिला थाहा पाउने म हुँ । तपाईँहरूले उता पश्चिमतिर स्पर राख्दा केही हुन्न भन्नुभएको छ । तर मेरो अनुभवले असर देखाउँछ । उता गैँडाकोटमा पनि असर पर्छ । नारायणगढ त झन् जोखिममा पर्छ । किनकि थोरै थुनिए पनि पानी दायाँबायाँ लाग्छ,' परियारले भने । उनले बाढी पस्ने जोखिम अत्यधिक रहेको ठाउँमा दायाँबायाँ बलियो तटबन्ध नबनाई नदीको गतिको अवरोध गर्ने स्पर बनाउन नहुने राय दिए ।
एकान्तकुनामा रहेको सरकारी निकाय पानी जहाज कार्यालयका रजिस्ट्रार मणिराम भुसालले नारायणगढ अहिले पनि मोटरबोटका कारण जलक्रियाका लागि परिचित हुँदै गएको बताएका छन् । 'नारायणगढमा अहिले दर्जनौँ मोटरबोट छन् । ती चढेर घुम्न आउनेहरू रमाइरहेका छन् । मोटरबोटसँगै हामी सय जना अट्ने पानी जहाज चलाएर जल यातायात नै सुरु गर्ने सोचमा छौँ,' भुसालले भने । नारायणगढका मोटरबोटलाई व्यवस्थित गर्न टर्मिनल बनाउने उनले बताए ।
नारायणगढमा टर्मिनल भवन बनाउन डीपीआर बनिसकेको र त्यसका लागि आवश्यक साढे १३ करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना रहेको भुसालले बताए । यसका साथै त्रिवेणी–देवघाट ८५ किलोमिटर दूरीमा पानी जहाज चलाउन डीपीआर गर्ने तयारी भएको जानकारी पनि दिएका छन् ।
तर नारायणगढको गौरेश्वर पशुपति मन्दिर आडमा भँगालो फाटेकाले हिउँदमा जल यातायातका लागि पर्याप्त पानी नहुने भएपछि स्पर बनाएर पानीको प्रबन्ध गर्न लागेको भुसालले बताए । 'स्पर राख्दा बर्खामा क्षति पुग्ने हामीले गरेको अध्ययनले नदेखेकै हो । हिउँदमा केही मात्रामा पानीको सतह बढे पनि स्परबाटै पानी छिरेर जान्छ । बर्खामा स्पर नाघेरै माथिबाटै पानी जान्छ, दायाँबायाँ धेरै फैलिँदैन भन्ने छ,' भुसालले भने ।
उनले हिउँदमा अहिलेकोभन्दा एक मिटर जति मात्र पानीको तह बढाउन खोजिएको बताए । 'यहाँ एक हात उठाए पनि भेल थेग्न गाह्रो हुन्छ, किनकि म नारायणीको बाढीको भुक्तभोगी हुँ । प्राविधिक रूपमा बाढीबाट सुरक्षित हुने गरी स्पर बनाउँछौँ भनेर तपाईँहरूले भने पनि म ढुक्क हुन सक्दिन,' नारायणगढका पुराना बासिन्दा तथा पूर्व सांसद भीमबहादुर श्रेष्ठले भने । टर्मिनल भवनका लागि सार्वजनिक सुनुवाइ भएको थियो ।
स्परका लागि सार्वजनिक सुनुवाइ वा ईआईए, आईई जस्ता वातावरणीय प्रभावका बारेमा अध्ययन गर्नुपर्ने मापदण्ड नरहेकाले सार्वजनिक सुनुवाइ नभएको पानी जहाज कार्यालयका रजिस्ट्रार भुसालले बताए । टर्मिनल भवनका लागि भएको सार्वजनिक सुनुवाइमा स्थानीय र वडा कार्यालयका प्रतिनिधिहरूले जल यातायातका लागि राम्रो योजना भनेर प्रशंसा गरेको हुँदा काम सुरु गरिएको भुसालको भनाइ छ ।
सार्वजनिक सुनुवाइमा सहभागी भएको भनिएका नारायणी आडको दियालो टोल विकास संस्थाका अध्यक्ष रविकुमार प्रधानले आफूहरू प्रारम्भिक छलफल गर्न भनेर वडा कार्यालयमा बसेको र पछि सार्वजनिक सुनुवाइ गरिन्छ भनिएकोमा त्यही छलफललाई सार्वजनिक सुनुवाइ भनिएको बताए । बाढीबाट असुरक्षा हुने आशंकाले स्थानीयले गरेको विरोधका कारण काम अघि नबढ्ने रजिस्ट्रार भुसालको भनाइ छ ।
