पानी जहाज कार्यालयले बनाउँदै गरेको बाटोले नारायणगढ बजारलाई जोखिम

जेष्ठ ५, २०८२

रमेशकुमार पौडेल

Narayangadh market is threatened by the road being built by the Shipping Office

चितवन — पानी जहाजका लागि पर्याप्त पानीको प्रबन्ध गर्न नारायणी नदीमा बनाउन लागेको संरचनाले बजार जोखिममा पर्ने भन्दै नारायणगढवासी विरोधमा उत्रिएका छन् । नारायणी लिफ्ट सिँचाइको मुहान र गौरेश्वर पशुपति मन्दिर आडमा बन्न सुरु भएको ‘स्पर’ विरोधका कारण रोकिने भएको छ ।

निर्माण व्यवसायीले दुई करोड ३९ लाख रुपैयाँमा बनाउन लागेको स्परका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

दुई वटा स्पर जेठ ३० भित्र निर्माण सक्ने गरी निर्माण कम्पनीले चैत २८ गते संघीय सरकारी निकाय पानी जहाज कार्यालयसँग सम्झौता गरेको थियो । निर्माण कम्पनीले वैशाख ३ गते काम सुरु गरेपछि स्थानीयवासी झस्किएका अमृत मस्केले बताए । धमाधम काम गर्न थालेपछि स्थानीयको विरोध पनि बढ्दै गएको थियो । योबीचमा सय मिटर लम्बाइ र दुई मिटर उचाइका दुई वटा स्परमध्ये एउटा स्पर लगभग बनिसकेको छ ।

काम रोक्न दबाब दिँदै आएका स्थानीयसँग कुरा गर्न आइतबार पानी जहाज कार्यालयका रजिस्ट्रार मणिराम भुसाल नारायणगढ आएका थिए । छलफलमा स्थानीयका कुरा सुनेपछि भुसाल काम अघि नबढाउने निष्कर्षमा पुगेका थिए । यद्यपि प्रक्रिया पूरा गरेर निर्णय लिन भने बाँकी नै रहेको छ । दीर्घकालमा त्रिवेणीदेखि देवघाटसम्म जल यातायात चलाउने उद्देश्यसहित यो योजना आएको उनले बताए पनि स्थानीयहरू विश्वस्त भएका छैनन् ।

'तपाईँहरूको योजना उता पश्चिम गैँडाकोटतिर फाटेको सानो भँगालोको पानी स्पर राखेर यता ल्याउने र हिउँदमा जल यातायात चलाउन मिल्ने बनाउने देखियो । यसरी भँगालोको पानी छेक्नु नारायणगढ बजारलाई असर पुर्‍याउनु नै हो,' नारायणगढ नदी आडका पुराना बासिन्दा तथा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भने । उनले गत वर्ष नारायणीमा ठूलो बाढी आउँदा बजारमा त्रास फैलिएको बताए ।

गत वर्ष नै बाढी बजार पस्ने हो कि झैँ भएको हुँदा नारायणीमा दुई–दुई वटा दुई मिटर अग्ला स्परहरू राखेपछि बाढी आउँदा बजार पस्ने डर हुने प्रधानले बताए । उनले भने, 'तपाईँहरूको प्राविधिक आकलन होला । तर तपाईँहरूले बाढी देख्नुभएकै छैन । यो वर्ष बर्खामा आउनुस्, भेल आउँदा भंगालोमा कति पानी जान्छ, यता कति आउँछ, त्यो हेरेर बल्ल डिजाइन बनाएर मात्र काम गर्नुस् । यो वर्ष काम नगर्नुस् ।'

Narayangadh market is threatened by the road being built by the Shipping Office

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सिँचाइको मुहान आडैमा स्पर राख्दा नहर प्रणाली ध्वस्त बन्ने खतरा बढेको बताए । 'गत वर्ष त हाम्रो नगरको मोटरहरू डुब्ने गरी बाढी पस्यो । अब यही स्पर लगाएर यता पानी जम्मा गर्न खोज्दा हरेक बाढीमा नहरको मुहान पानीले हिर्काउने र भत्काउने खतरा सुरु भयो,' रानाभाटले भने । उनले पनि यो काम तत्काल रोक्नुपर्ने बताएका छन् ।

'नहरको भविष्य रहँदैन । बजारलाई असर गर्दछ । नहर नभएपछि पश्चिम चितवनका हजारौँ हेक्टरमा सिँचाइ अवरुद्ध हुन्छ । त्यसैले यो काम यसरी खेलाँचीमा नगरौँ, रोकौँ । नभए हामी १० हजारौँ उपभोक्ता फिल्डमा उतारेर आन्दोलन गरेर भत्काउन आउँछौँ,' रानाभाटको चेतावनी थियो । नदी आडमै बस्दै आएका डिबी परियारले नदीलाई थोरै मात्रै पनि अवरोध गर्दा बनाइने संरचनाका कारण पानी दायाँबायाँ लाग्ने बताए ।

'यहाँ बाढी आए सबैभन्दा पहिला थाहा पाउने म हुँ । तपाईँहरूले उता पश्चिमतिर स्पर राख्दा केही हुन्न भन्नुभएको छ । तर मेरो अनुभवले असर देखाउँछ । उता गैँडाकोटमा पनि असर पर्छ । नारायणगढ त झन् जोखिममा पर्छ । किनकि थोरै थुनिए पनि पानी दायाँबायाँ लाग्छ,' परियारले भने । उनले बाढी पस्ने जोखिम अत्यधिक रहेको ठाउँमा दायाँबायाँ बलियो तटबन्ध नबनाई नदीको गतिको अवरोध गर्ने स्पर बनाउन नहुने राय दिए ।

एकान्तकुनामा रहेको सरकारी निकाय पानी जहाज कार्यालयका रजिस्ट्रार मणिराम भुसालले नारायणगढ अहिले पनि मोटरबोटका कारण जलक्रियाका लागि परिचित हुँदै गएको बताएका छन् । 'नारायणगढमा अहिले दर्जनौँ मोटरबोट छन् । ती चढेर घुम्न आउनेहरू रमाइरहेका छन् । मोटरबोटसँगै हामी सय जना अट्ने पानी जहाज चलाएर जल यातायात नै सुरु गर्ने सोचमा छौँ,' भुसालले भने । नारायणगढका मोटरबोटलाई व्यवस्थित गर्न टर्मिनल बनाउने उनले बताए ।

नारायणगढमा टर्मिनल भवन बनाउन डीपीआर बनिसकेको र त्यसका लागि आवश्यक साढे १३ करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना रहेको भुसालले बताए  । यसका साथै त्रिवेणी–देवघाट ८५ किलोमिटर दूरीमा पानी जहाज चलाउन डीपीआर गर्ने तयारी भएको जानकारी पनि दिएका छन् ।

तर नारायणगढको गौरेश्वर पशुपति मन्दिर आडमा भँगालो फाटेकाले हिउँदमा जल यातायातका लागि पर्याप्त पानी नहुने भएपछि स्पर बनाएर पानीको प्रबन्ध गर्न लागेको भुसालले बताए । 'स्पर राख्दा बर्खामा क्षति पुग्ने हामीले गरेको अध्ययनले नदेखेकै हो । हिउँदमा केही मात्रामा पानीको सतह बढे पनि स्परबाटै पानी छिरेर जान्छ । बर्खामा स्पर नाघेरै माथिबाटै पानी जान्छ, दायाँबायाँ धेरै फैलिँदैन भन्ने छ,' भुसालले भने ।

उनले हिउँदमा अहिलेकोभन्दा एक मिटर जति मात्र पानीको तह बढाउन खोजिएको बताए । 'यहाँ एक हात उठाए पनि भेल थेग्न गाह्रो हुन्छ, किनकि म नारायणीको बाढीको भुक्तभोगी हुँ । प्राविधिक रूपमा बाढीबाट सुरक्षित हुने गरी स्पर बनाउँछौँ भनेर तपाईँहरूले भने पनि म ढुक्क हुन सक्दिन,' नारायणगढका पुराना बासिन्दा तथा पूर्व सांसद भीमबहादुर श्रेष्ठले भने । टर्मिनल भवनका लागि सार्वजनिक सुनुवाइ भएको थियो ।

स्परका लागि सार्वजनिक सुनुवाइ वा ईआईए, आईई जस्ता वातावरणीय प्रभावका बारेमा अध्ययन गर्नुपर्ने मापदण्ड नरहेकाले सार्वजनिक सुनुवाइ नभएको पानी जहाज कार्यालयका रजिस्ट्रार भुसालले बताए । टर्मिनल भवनका लागि भएको सार्वजनिक सुनुवाइमा स्थानीय र वडा कार्यालयका प्रतिनिधिहरूले जल यातायातका लागि राम्रो योजना भनेर प्रशंसा गरेको हुँदा काम सुरु गरिएको भुसालको भनाइ छ ।

सार्वजनिक सुनुवाइमा सहभागी भएको भनिएका नारायणी आडको दियालो टोल विकास संस्थाका अध्यक्ष रविकुमार प्रधानले आफूहरू प्रारम्भिक छलफल गर्न भनेर वडा कार्यालयमा बसेको र पछि सार्वजनिक सुनुवाइ गरिन्छ भनिएकोमा त्यही छलफललाई सार्वजनिक सुनुवाइ भनिएको बताए । बाढीबाट असुरक्षा हुने आशंकाले स्थानीयले गरेको विरोधका कारण काम अघि नबढ्ने रजिस्ट्रार भुसालको भनाइ छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully