हेटौँडा — वीरगञ्जदेखि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परी घाइते भएका भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भारतको मोतिहारी जिल्लाका ६० वर्षीय ललन चौधरीको उपचारका क्रममा ज्यान गएको हो।
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिवार बेलुका उनको मृत्यु भएको हो। हेटौँडा-काठमाडौँ भित्रिने वैकल्पिक मार्ग कुलेखानी- फाखेल सडक खण्डको महालक्ष्मी खोलाको उकालो चढ्न नसकेर पछाडि हट्ने क्रममा ना .१ ज २४२९ नम्बरको टाटा सुमोको पछाडिको भाग भित्तामा ठोकिएको थियो।
भित्तामा ठोकिने क्रममा उक्त सुमोको पछाडि सिटमा सवार चौधरी घाइते भएका थिए । वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको थियो। सुमो चालक बारा गढीमाई नगरपालिका-११ का २८ वर्षीय मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
