हेटौंडामा अटो र ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रीको मृत्यु

जेष्ठ ४, २०८२

प्रताप विष्ट

A passenger on a motorcycle died in a collision between an auto and a truck in Hetaunda

हेटौंडा — हेटौंडा उपमहानगरपालिका—४ कर्रामा ट्रक र अटोको ठक्करबाट मोटरसाइकलमा सवार एक यात्रीको मृत्यु भएको छ ।

मोटरसाइकल चालक घाइते भएका छन् । हेटौंडा बजारबाट पशुपतिनगरतर्फ गइरहेको ना ५३ प १२७४ नम्बरको मोटरसाइकललाई पशुपतिनगरतर्फबाट आइरहेको नम्बर नखुलेको अटोले ठक्कर दिएसँगै ना ६ ख १३७ नम्बरको १२ चक्के खाली ट्रकलेसमेत ठक्कर दिएकाले मोटरसाइकल पछाडि सवार पदमपोखरी—१२ का ५८ वर्षीय सीताराम विक सख्त घाइते भएका थिए । उनको उपचारको क्रममा शनिबार राति हेटौंडा अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाइकल चालक घाइते राज विक र मृतक सीताराम बाबु–छोरा हुन् । ट्रक र ट्रक चालक तनहुँ ब्यास नगरपालिका—५ का ३७ वर्षीय सरोज श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । अटो र अटो चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएर अटो भागेको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully