धसेको कृष्णभिर सडक मर्मत सुरु, यही महिनाभित्र सक्ने लक्ष्य

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

The repair of the flooded Krishnabhir road has started, and the target is to be completed within this month

चितवन — गत असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण धसेको पृथ्वी राजमार्गको कृष्णभिर खण्डको सडक मर्मत सुरु गरिएको छ। करिब १०० मिटर लामो सडक खण्डमा दुई मिटर चौडा भाग ५० सेन्टिमिटरसम्म धसिएको थियो।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार हाल स्तरोन्नतिको काम गरिरहेको शर्मा जेडआइसीजी जेभी कम्पनीले नै मर्मतको जिम्मा लिएको हो। तीव्र गतिमा काम भइरहेको र यही जेठ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

सडक विभागका इन्जिनियर र विज्ञ टोलीको अध्ययनपछि मर्मत सुरु गरिएको हो। विज्ञका अनुसार वर्षाको पानी सडक भित्रिएर जमिन भासिएको हो। सुरुमा त्रिशूली नदीले कटान गरेर सडक धसिएको आशंका गरिएको थियो । तर विज्ञहरूले पानी प्रवेश नै मुख्य कारण भएको निष्कर्ष निकालेका छन्।

मर्मतका लागि माइक्रोपाइलिङ र होरिजेन्टल रक एंकरिङ प्रविधि प्रयोग गरिँदैछ। सडकको माथिल्लो भागको मर्मतपश्चात तल त्रिशूली नदीले बगाएर खोलिएको क्षेत्रमा थप अध्ययन गरी मर्मत गरिने जानकारी नेपालले दिए।

उक्त सडक खण्डमा विसं २०५६ देखि प्रत्येक वर्षात्को मौसममा पहिरो जाने समस्या देखिँदै आएको थियो। त्यसको समाधान स्वरूप वि.सं. २०६४ मा बायो इञ्जिनियरिङ र टेवा पर्खाल प्रविधिबाट पहिरो रोकथाम गरिएको थियो। त्यसयता यस क्षेत्रमा पहिरो तथा बाढीजन्य समस्या देखिएको थिएन।

कान्तिपुर

Link copied successfully