चितवन — भरतपुर महानगरपालिका-२५ किसानचोकमा एक जना व्यक्तिले आफ्नै छोरी, दाइको छोरा र आफैंलाई धारिलो हतियार खुर्पा प्रहार गरेका छन् ।
शुक्रबार बिहान १० बजेतिर भएको सो घटनामा खुर्पाले लागेर गम्भीर घाइते भएका आरोपितका दाइको छोराको उपचारका क्रममा निधन भएको चितवन प्रहरीले जनाएको छ । आफैंलाई खुर्पाले हानेका आरोपित र उनकी छोरीको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार भरतपुर-२५ का ४२ वर्षीय लिलाराज गिरीले आफ्नै छोरी सात वर्षकी प्रभा गिरी र आफ्नै दाइका छोरा पाँच वर्षका सजन गिरीलाई खुर्पाले हानेर घाइते बनाएका थिए । त्यसपछि लिलाले सोही खुर्पाले आफैंलाई हानेको डीएसपी खनालले बताए ।
गम्भीर घाइते तीनैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँच वर्षीय बालक सजन गिरीको साढे १० बजेतिर निधन भएको डीएसपी खनालले जानकारी दिए ।
खुर्पा प्रहार गर्ने लिलाराजको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको भनाइ छ । उनी भूपूआर्मी पनि भएको डीएसपी खनालले कताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
