३ घण्टाकै वर्षाले रोशीमा बाढी

वैशाख ३१, २०८२

ज्योती श्रेष्ठ

Flooding in Roshi after 3 hours of rain

काभ्रे — पनौतीमा सोमबार दिउँसो २ बजेदेखि करिब ३ घण्टा वर्षा हुँदा रोशी खोलामा बाढी आएर बीपी राजमार्ग करिब १६ घण्टा अवरुद्ध भएको छ भने पनौतीमा ठाडो खोलाले एक महिला बगाएको छ । 

जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेका अनुसार पनौती–५ सुब्बा गाउँकी ३३ वर्षीया रेणुका गिरीलाई सोमबार साँझ ६ बजेतिर ठाडो खोलाले बगाएको हो । खेतमा काम गरेर घर फर्कने क्रममा ढलमलेस्थित ठाडो खोलामा उनी बगेकी थिइन् । ‘स्थानीय बासिन्दा, प्रहरी, सेना, सशस्त्र प्रहरीले उनको खोजी गरिरहेका छन्,’ घलेले भने । 

रोशीको बाढीले बीपी राजमार्गका डाइभर्सन बगाउनुका साथै सडकमा क्षति गर्दा सोमबार राति ९ बजेदेखि सवारी आवगमन अवरुद्ध भएको थियो । बाढीले रोशी गाउँपालिका–१२ स्थित माम्तीमा डाइभर्सन बगाएको हो । यस्तै वडा ९ स्थित बोक्से कुना र वडा ८ स्थित चारसयबेंसीमा बाढीले सडकमा क्षति गरेको हो । संघीय राजधानीसँग देशका पूर्वी जिल्लालाई जोड्ने राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका थिए । 

काभ्रेका ट्राफिक प्रहरी प्रमुख निरीक्षक सुनिल धाँजुका अनुसार बाढीले राजमार्गका विभिन्न स्थान अवरुद्ध भएपछि सोमबार रातिदेखि नै १६ घण्टासम्म सवारीसाधनलाई रोकेर राखिएको थियो । ‘पूर्वबाट काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीमा र काठमाडौंबाट पूर्वतर्फ जाने सवारीलाई भकुन्डेमा रोकिएको थियो,’ उनले भने, ‘एक्स्काभेटरले मर्मत गरेपछि मंगलबार दिउँसो १ बजेबाट राजमार्गमा यातायात सञ्चालन भयो ।’ गत असोजमा बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग एकैछिनको पानीले बाढी आउँदा पनि अवरुद्ध हुन पुगेको हो । 

ओखलढुंगादेखि काठमाडौं हिँडेका राम कार्कीले बीपी राजमार्ग अवरुद्ध हुँदा करिब ४ घण्टा रोकिएको सुनाए । ‘सानो पानी पर्दा पनि बाढी आएर राजमार्ग नै बन्द भयो, बर्खामा कसरी यात्रा गर्न सकिएला ?’ उनले भने । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully