आठ महिनापछि कुनेखर्कका ११३ घरधुरीमा पुग्यो खानीपानी

वैशाख ३१, २०८२

ज्योती श्रेष्ठ

After eight months, mining water reached 113 households in Kunekhark

काभ्रे — असोजको दोस्रो साता आएको बाढीपहिरोले बेथानचोक गाउँपालिका–३ स्थित कुनेखर्कको खानीपानीको मुहान पुरेको थियो । खानीपानीको मुहानमा बाढी/पहिरोले क्षति पुर्‍याएको ८ महिनापछि त्यसको मर्मतसंभार गरेर अहिले खानीपानी पुर्‍याइएको हो ।

गत असोज १०, ११, १२ मा आएको अविरल वर्षाले क्षति पुर्‍याएको बेथानचोक गाउँपालिका–३ स्थित कुनेखर्क खानीपानी तथा सरसफाइ आयोजनालाई बेथानचोक गाउँपालिका र अक्सफामको आर्थिक सहयोग र समन्वय एवं शान्ति जनआदर्श सेवा केन्द्रले प्राविधिक सहयोग गरेर मर्मतसम्भार भएको हो । उक्त कार्य सम्पन्न भएसँगै बुधबार एक कार्यक्रम गरी आयोजना हस्तान्तरण गरिएको थियो । आयोजना हस्तानन्तरण गरेसँगै कुनेखर्कका ११३ घरधुरी खानीपानीबाट लाभान्वित भएको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालले बताए ।

बाढीले खानीपानीको मुहानमा क्षति गरेपछि गाउँमा खानीपानीको हाहाकार भएको स्थानीय सोमकुमारी तिमल्सिनाले बताइन् । उनका अनुसार त्यो समयमा जताततै पानीको समस्या भएको थियो । पानी खोज्न गाउँ–गाउँ चहारेको अनुभव उनले सुनाइन् । ‘पानी खोज्न धेरै ठाउँमा धाइयो,’ उनले भनिन्, ‘खोल्साको पानी उभाएर समेत खाएका थियौं ।’ अहिले बल्ल घरको धारामै पानी आएको उनले बताइन् ।

स्थानीय ज्ञानु तिमल्सिनाका अनुसार घर–गृहस्थी सम्हाल्ने यहाँका महिलालाई सधैं पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता हुने गर्थ्यो । विपदपछिका दिनमा पानीको व्यवस्थापन गर्न निकै कठिन भएको उनले बताइन् । ‘यहाँ पहिल्यैदेखि नै पानीको समस्या थियो,’ उनले भनिन्, ‘असोजमा आएको बाढीपछि यहाँ झन् धेरै समस्या भयो, एक बिहान त पानीको जोहो गर्न नै लाग्थ्यो, भान्सामा पानी उत्तिकै चाहिने, बस्तुभाउ, सर–सफाइका लागि पानी चाहिने, पानीको व्यवस्थापन गर्न नै गाह्रो थियो ।’ 

खानीपानीको मुहानको मर्मतसंभार गरेर पानी व्यवस्थापन गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार धेरै दुःखका साथ यस स्थानमा पानीको सुविधा प्रदान गरिएको छ । यसको सदुपयोग गर्न उनले आग्रह गरे । 

कुनेखर्क खानीपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा कुल १६ लाख ४२ हजार ७ सय ४० को लागतमा खानेपानीको मुहान मर्मतसंभार कार्य सम्पन्न भएको समितिका सचिव सुदर्शन थापा मगरले जानकारी दिए । उनका अनुसार उक्त कार्यका लागि बेथानचोक गाउँपालिकाबाट ४ लाख २७ हजार २ सय ६५ रुपैयाँ, अक्सफामबाट ११ लाख रुपैयाँ आर्थिक सहयोग, जसमा शान्ति जनआर्दश सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो । त्यस्तै स्थानीय जनश्रमदानबाट १ लाख १५ हजार ४ सय ७५ रुपैयाँ गरी कुल १६ लाख ४२ हजार ७ सय ४० रुपैयाँको लागतमा काम सम्पन्न भएको उनले बताए । 

वर्षौंदेखि खानीपानीको समस्या भएको क्षेत्रमा काम गर्दै आएको र विपदका कारण कुनेखर्कका स्थानीयले पनि खानेपानीका लागि दुःख पाएको कुरालाई मध्यनजर गर्दै अक्सफाम र पालिकाको आर्थिक सहयोग र शान्ति जनआर्दश सेवा केन्द्रको प्राविधिक सहयोगमा काम सम्पन्न गरेर स्थानीयलाई वितरण गरिएको केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले बताए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully