चितवन — खैरहनी नगरपालिका-८ को एउटा खाजा पसलमा मंगलबार दिउँसो हतियारधारी समूहले कुटपिट गर्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । मुख्य आरोपित फरार छन् ।
आहारा क्याफेमा दिउँसो साढे १ बजेतिर धारिलो हतियारसहित आएका ३/४ को समूहले आक्रमण गर्दा राप्ती नगरपालिका-४ का २८ वर्षीय दिपेन्द्रसिंह गोले गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए । दिपेन्द्रको बायाँ हातको नाडीमा गहिरो चोट छ । राप्ती-२ का २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै खैरहनी-९ सिमलटाँडीका २७ वर्षीय अमृत आचार्य सामान्य घाइते भएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गैंडाकोट लगायतका ठाउँबाट गएका युवाको टोली खाजा खाँदै गरेकाहरूलाई कुटपिट गरेर फरार भएको चितवन प्रहरीको भनाइ छ । प्रहरीले दिउँसो ४ बजे राप्ती-४ भवानीपुरका २९ वर्षीय दुईजना युवालाई अनुसन्धानमा लागि नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
