हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारले निजीकरण गर्न लागेको हेटौंडा सिमेन्ट उद्योग प्रदेश सरकारलाई जिम्मा दिए २ वर्षभित्रमा मुनाफामा लैजाने दाबी गरेका छन् ।
प्रदेश सरकारलाई उद्योग सञ्चालनको जिम्मेवारी दिए रोजगारी बढ्ने र उद्योग पनि मुनाफामा सञ्चालन हुने उनको जिकिर थियो । बागमती प्रदेश युवा परिषदले हेटौंडामा मंगलबार आयोजना गरेको युवा सम्मेलनको ‘युवासँग मुख्यमन्त्री’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हेटौंडाका एक युवकले मुख्यमन्त्री लामालाई ‘हेटौंडा सिमेन्ट र कपडा उद्योग बन्द अवस्थामा छ, तपाईंले कसरी रोजगारीको सिर्जना गर्नुहुन्छ ?’ भनी सोधेको प्रश्नमा उनले संघीय सरकारले अहिलेसम्म प्रदेश सरकारलाई औद्योगिक क्षेत्र जिम्मा नलगाएको बताए ।
प्रदेश सरकारले युवाहरुलाई प्रविधिमैत्री बनाउन तालिम दिने व्यवस्था गरेको बताउँदै उनले युवाहरुले स्थापना गरेको कृषि फार्म र कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराए । युवालाई मुलुकमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश सरकारले अब ल्याउने बजेट युवामैत्री बनाउने उनको भनाइ छ ।
सञ्चारकर्मी रुपेश श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले भने, ‘उद्यमी युवाहरुको साथमा प्रदेश सरकार छ ।’
बागमती प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन मंगलबारसम्म चलेको थियो । सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सीप, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सीपमूलक तालिमको आवश्यकता लगायतका विषयमा छलफल गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।
