कुलेखानी तेस्रोबाट १४ दिनपछि विद्युत् उत्पादन

वैशाख २९, २०८२

प्रताप विष्ट

Power generation after 14 days from Kulekhani III

हेटौंडा — जेनेरेटर प्लेटको मर्मत सकिएपछि कुलेखानी तेस्रोको दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिट बिग्रिएकामा १४ दिनपछि मर्मत सकिएको हो ।

मर्मतपछि सोमबार अपराह्नदेखि उत्पादन सुरु भएको हो । कुलेखानीको तेस्रोका दुई युनिटमध्ये एउटा युनिटको जेनेरेटर प्लेटमा खराबी आएपछि वैशाख १५ देखि मर्मत थालिएको थियो । चिनियाँ तीन प्राविधिक र नेपाली १८ प्राविधिक मर्मतमा जुटेका थिए ।

केन्द्रका  प्रमुख प्रसन्नमणि ताम्राकारले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम गर्नुका साथै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम गरिएको बताए ।

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोमा २ वटा युनिट छन् । एउटा युनिटको जेनेटर बिग्रे पनि अर्को युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । सोमबार अपराह्नदेखि १४ मेगावाट विद्युत् उत्पादन भएको प्राविधिकहरुले बताएका छन् ।

आयोजनाका तीन केन्द्र छन् । भीमफेदी गाउँपालिकाको सानुटारमा तेस्रो पावरहाउस छ ।कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘तेस्रोको जेनेटर बिग्रिँदा करिब २ साता कुलेखानीले पूर्ण क्षमताका साथ विद्युत् उत्पादन गर्न सकेन ।’ 

Power generation after 14 days from Kulekhani III

विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशयमा अहिले दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घट्ने गरेको छ । सोमबार अपराह्न १ हजार ५ सय ५६ सेन्टिमिटर पानीको सतह रहेको छ । आयोजना अहिले चौबिसै घण्टा सञ्चालनमा छ । 

जलाशयमा १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी अट्ने क्षमता छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रोबाट १४ मेगाबाट उत्पादन क्षमता छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully