काभ्रे — पूर्वराष्ट्रपति रामवरण यादवले विश्वमा शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । सोमबार काभ्रेमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा कार्यक्रमको समुद्घाटन गर्दै यादवले बुद्ध जयन्तीको अवसरमा पारेर सञ्चालन गरिएको कार्यक्रमले विश्वभर शान्ति स्थापना गर्ने विश्वास भएको बताए ।
पनौती र नमोबुद्धको पहिचानलाई विश्वसामु चिनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने उनको भनाइ थियो ।उनका अनुसार पनौती र नमोबुद्ध विश्व सम्पदामा सूचीकृत हुने अवस्थामा छन् । यस प्रकारको कार्यक्रमले पनि पनौती र नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गराउन टेवा पुग्ने उनको भनाइ थियो । ‘ऐतिहासिक महत्व बोकेको एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा पनौती परिचित छ,’ उनले भने, ‘शान्ति पदयात्राले यहाँको पर्यटन विकास हुनेछ भन्ने विश्वास रहेको छ ।’
यस कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धन हुने बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले बताए । त्यस्तै, पनौती नगर प्रमुख रामशरण भण्डारीले यस कार्यक्रमले पनौतीलाई विश्व सम्पदामा सूचीकृत हुने विश्वास राखिएको बताए ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाको सहयोग तथा विभिन्न साझेदारको सहयोगमा शान्ति पदयात्रा आयोजना गरिएको काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
