मानसिक स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित 

वैशाख २७, २०८२

अनिश तिवारी

Locals benefit from mental health camps

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका-९ स्थित बाह्रबिसे नगर अस्पतालमा शनिबार मानसिक रोगबारे शिविर सञ्चालन गरिएको छ । बाह्रबिसे नगरको आयोजना र आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर गौशालाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

बाह्रबिसे नगरपालिका-८ का अध्यक्ष विमल पौड्यालकाअनुसार शिविरबाट ५० भन्दा बढी स्थानीय लाभान्वित भएका थिए । आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरका वरिष्ठ मनोचिकित्सक डा पुष्प शर्मासहित विभिन्न स्वास्थ्यकर्मीबाट मानिसक रोगको नि:शुल्क परीक्षण, परामर्श तथा औषधि दिइएको थियो । अस्पतालमा यस्तो सेवा पाएपछि स्थानीय हर्षित भएका छन् । आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी प्रबन्ध निर्देशक साधना थापाले शिविरमा मानसिक समस्या भएका बिरामी लक्षित शिविरले मानसिक रोग र समस्या देखाउन नचाहेने प्रवृत्तिले समस्या देखिएको बताइन् । 

'मानसिक समस्यालाई समाजमा हेर्ने दृष्टिकोण संकुचित देखिन्छ,फलस्वरूप यसले आत्महत्याजस्ता दुखद् घटना बढेको देखिन्छ, यसका लागि शिविर र यसबारे सचेतना अझ जरुरी देखिन्छ,' साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट थापाले भनिन् । 

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, वडाध्यक्षको उपस्थितिमा म्याग्नेस फर्मा र स्वास्थ्य मन्त्रालयबाट प्राप्त सर्जिकलसहित अन्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो ।  

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully