बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

वैशाख २६, २०८२

अनिश तिवारी

One person died when a bus and a motorcycle collided

सिन्धुपाल्चोक — जिल्लाको लिसंखुपाखर गाउँपालिका–१, निगाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार दुर्घटनाका मृतक मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली हुन् । उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याइएका ती गम्भीर घाइते चालकलाई साँझ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

करिब ५ बजे  दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारर्थ जुटेका थिए । बस र चालक दोलखा कालिन्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

घटनास्थलमा प्रहरी चौकी मुडे, इलाका प्रहरी कार्यालय बाह्रबिसे, प्रहरी चौकी बलेफी तथा ट्राफिक प्रहरीसहित २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । बाटोमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको छ । 

दुर्घटनामा संलग्न बसलाई साँझ ६:१५ बजे प्रहरी चौकी लामोसाँघुमा राखिएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully