मकवानपुर — नक्कली नोट बोकेर हिँडेका एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गंगाजमुना गाउँपालिका-२ घर भई हाल हेटौंडा–८ बस्दै आएका ४२ वर्षका रामकृष्ण अधिकारीलाई नक्कली नोटसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ५०० को दरको १८६ थान अर्थात् ९३ हजार नक्कली नोट फेला पारेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा चेकिङको क्रममा बर्दिबासबाट हेटौंडातर्फ आउँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकलबाट नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकाको आधारमा उनलाई खानतलासी गर्दा झोलामा लुकाएर ल्याएको अवस्थाको नक्कली नोट फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
अधिकारीलाई मुद्रासम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
