साँगा-धुलिखेल सडक : पुलबजारमा ३ महिनादेखि अवरोध, समय सकिन ८ महिना बाँकी

वैशाख २५, २०८२

ज्योती श्रेष्ठ

Sanga-Dhulikhel Road: Blockade at Pulbazar for 3 months, 8 months remaining

काभ्रे — निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल खण्डको ६ लेन विस्तार कार्य हालसम्म ४७ प्रतिशत भएको छ । सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार निर्माणका लागि तोकिएको अवधि सकिन ८ महिना मात्रै बाँकी छ । पहिलो खण्डको केही स्थानमा काम रोकिएको छ भने केही स्थानमा काम धमाधम भइरहेको छ ।

पहिलो खण्डको पुलबजार क्षेत्रमा ३ महिनादेखि स्थानीयले सेन्टर लाइनको विवादलाई लिएर निर्माण कार्य सञ्चालन गर्न नदिएको आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिए । उनका अनुसार निर्माणाधीन सडक खण्डको पुलबजार क्षेत्रमा सेन्टर लाइनको विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि करिब ३ महिनादेखि त्यहाँ विस्तारको काम रोकिएको हो । यस विषयमा नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन पटक–पटक छलफल गरिए पनि निष्कर्षविहीन भएको उनले बताए । उनका अनुसार अन्य स्थानमा भने अहिलेसम्म त्यस्तो अवरोध देखिएको छैन । पहिलो खण्डअर्न्तगत धुलिखेल क्षेत्रमा भने सडक कालोपत्रको काम भइरहेको छ ।

‘धुलिखेल बाँसघारीदेखि धुलिखेल चोकसम्म १ किलोमिटर सडकमा अहिले सडक कालोपत्रको काम भइरहेको छ,’ उनले भने, ‘२०८१/२०८२ को मसान्तसम्ममा सो क्षेत्रमा निर्माण कार्य सम्पन्न गर्ने तयारीमा छौं ।’ उनका अनुसार पुलबजार पारी क्षेत्रमा पनि चालु आर्थिक वर्षको मसान्तसम्ममा नै काम सक्ने तयारी भइरहेको छ । ‘पुलबजारको पुलपारीदेखि जनागालसम्म अहिले विस्तारको काम तीव्र भइहरको छ,’ उनले भने, ‘त्यहाँ पनि अबको केही दिनमै कालोपत्रको काम अघि बढाउने तयारीमा छौं ।’

Sanga-Dhulikhel Road: Blockade at Pulbazar for 3 months, 8 months remaining

सडक विस्तार कार्यमा स्थानीयको अवरोधसँगै विभिन्न स्थानमा घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार गर्नुपर्ने, अप्टिकल फाइबरका लाइन, हाइटेन्सन पोल हटाउनुपर्ने पनि समस्या पनि रहेको लामा कन्सट्रक्सनका इन्जिनियर रवीन्द्र श्रेष्ठले जानकारी दिए । पहिलो खण्डअन्तर्गत सडक किनारामा रहेका घर–टहरा हटाउने काम भइरहेको सडक आयोजनाका इन्जिनियर खनालले जानकारी दिए । उनका अनुसार बिजुलीका पोल स्थानान्तरण गर्ने काम ८० प्रतिशत सकिसकेको छ ।

चालु आर्थिक वर्षको लागि सडक विस्तार कार्यका लागि सरकारसँग ६० करोड रुपैयाँ माग गरिएको उनले बताए । ‘हामीसँग अब ६ करोड रुपैयाँ मात्रै बाँकी रहेको छ,’ उनले भने, ‘सडक विस्तार कार्यका लागि उक्त रकम अपुग हुने भएकाले थप ६० करोड रुपैयाँ माग गरिएको छ ।’

त्यस्तै, अगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि करिब ३ अर्ब लागत अनुमान गरिएको छ । साँगा–धुलिखेल सडक खण्डको ८ किलोमिटर सडका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त खण्ड विस्तार कार्यको ठेक्का ३ वर्षमा सक्ने गरी लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully