चितवन — घर निर्माणका लागि चाहिने सामग्रीहरुको प्रदर्शनी र अन्य आवश्यक विषयमा परामर्श दिने गरी नारायणगढमा बिहीबारदेखि ‘घर बनाउने मेला’ सुरु भएको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्घाटन गरेको मेला शनिबारसम्म चल्ने छ ।
एस वन होम्स र युवा व्यवसायीहरुको समूह भी ग्रुपले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् । चितवनमा घर जग्गा कारोबार र भवन निर्माण गर्ने क्रम बढ्दो छ । ‘घर जग्गा छनोट र घर निर्माणका विभिन्न पक्षहरुमा जानकारी दिने उद्देश्यले चितवनमा नै पहिलो पटक हामीले यस्तो मेला आयोजना गरेका हौं,’ मेला संयोजक विपीन कँडेलले भने । मेलामा ३० वटा स्टलहरु रहेका छन् । जहाँ घरका डिजाइनदेखि घर निर्माणमा चाहिने र निर्माणपछि पनि घरलाई आवश्यक पर्ने सामग्रीहरु राखिएको कँडेलले बताए ।
घर निर्माण र घडेरी खरिदका बारेमा सरकारी नियम मापदण्डहरुका बारेमा जानकारी गराउन विज्ञहरुबाट परामर्श दिने पनि उनको भनाइ छ । घर जग्गा खरिद बिक्री गर्ने सुविधा पनि मेलामा उपलब्ध हुने उनी बताउँछन् । चितवन र नेपालबाटै विदेश जाने आउनेको संख्या बढ्दो छ । विदेशका झैं घरहरु बनाउने रहर धेरैको हुन्छ । ‘यस्तो मनस्थितिमा रहेकाहरुलाई हामी घर निर्माणको उचित परामर्श दिन्छौं,’ उनले भने ।
उचित लागत र समयमा उपयुक्त घर बनाउने जानकारी दिने उद्देश्यले मेला आयोजना गरेको एस वन होम्सका सुरज न्यौपानेले बताए । ‘जीवनमा एक पटक राम्रो घर बनाउने सोच हरेकले राख्छन् । तर यस बारेमा जानकारी र अनुभव नहुँदा अनावश्यक रुपमा लागत र समय बढ्छ । घरको गुणस्तर पनि हुँदैन । यी कुराहरुलाई हटाउन घर निर्माणसँग जोडिएका धेरै पक्षहरुका बारेमा यो मेलामा हामी जानकारी गराउने छौं,’ उनले भने ।
निर्माण व्यवसायी तथा कम्पनी, निर्माण सामग्री उद्योग तथा बिक्रेता, बैंक, इन्जिनिरिङ कन्सल्टेन्सि, इन्जिनियरिङ कलेका स्टलहरु मेलामा छन् । रामपुरको इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार गरेका नमुनाहरुसमेत प्रदर्शनीमा राखिएको छ । तीन दिनसम्म १० हजारजनाले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । चितवन उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा मेला आयोजना गरेको सँयोजक कँडेलले बताए ।
