मकवानपुर — अवैध लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्रेको छ । कान्ति लोकपथ सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीमा सुकौरा बुढीचौर हुँदै हेटौंडा बजारतर्फ आउँदै गरेको ना. २६ प ३६७१ नम्बरको मोटरसाइकलबाट २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-८ का २५ वर्षीय विजय थापा र मकवानपुरगढी गाउँपालिका-७ का ३५ वर्षीय सुनिल बोम्जन रहेका छन् ।
शंकाका आधारमा उनीहरुलाई खानतलासी गर्दा लुकाएर ल्याएको २ किलो ५३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
