भन्सारको गोदामबाट भेप चोरी: चोरीको आरोपमा गार्ड र अपरेटरसहित चार जना पक्राउ 

वैशाख २४, २०८२

अनिश तिवारी

Vape theft from customs warehouse: Four arrested including guard and operator for theft

सिन्धुपाल्चोक — जिल्लाको उत्तरी नाका तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा केही समयअघि चोरी भएको विद्युतीय चुरोट (भेप) प्रकरणमा मंगलबार बेलुका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीकाअनुसार भन्सारबाट केही दिनअघि ३६ कार्टुन चोरी भएकोमा शंकास्पद चार जनालाई नियन्त्रणमा लिइएको छ ।

भेप चोरीको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । सीसीटीभी फुटेजको आधारमा माक्स लगाएका केही व्यक्तिले भेप चोरेको देखिएको थियो । जसमा भन्सारका एक सुरक्षाकर्मीको कोठाछेउमा दुई कार्टुन भेप प्रहरीले फेला पारेको थियो । 

त्यही आधारमा भन्सारका गार्डसहित अपरेटर र अन्य दुई स्थानीयलाई प्रहरीले समातेको हो । ‘उनीहरुलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको हो, भन्सारको जाहेरी प्राप्त भएको छैन, थप अनुसन्धान भइरहेको छ, सम्पूर्ण कुरा सार्वजनिक गर्नेछौं ,' कार्कीले भने ।

स्रोतकाअनुसार सीसीटीभी फुटेजमा माक्स लगाएका व्यक्तिहरुले बाक्साको तार काट्दै गरेको देखिन्छ । केही समयअघि सिल्क ट्रान्सपोर्टको एक कन्टेनर चेकजाँच गर्दा त्यसभित्र ९ सय ८० कार्टुन भेप फेला परकेो थियो । 

जसमा प्रत्येक कार्टुनमा डेढदेखि दुई सय थानसम्म भेप थिए । भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको छ ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले भेपको चोरी आरोपमा भन्सारका एक सुरक्षाकर्मी ,अपरेटर र दुई स्थानीय नियन्त्रणमा लिइएको बताए ।

‘यहाँबाट जाहेरि लिएर प्रतिनिधि हिँडिसकेका छन्, हराएको ३६ कार्टुनमध्ये फेला परेको दुई बाक्साको आधारमा उनीहरुलाई नियन्त्रणका लिइएको हो,’ उनले भने । यसअघि तातोपानी भन्सार प्रमुख कमलकुमार भट्टराईले भने ट्रान्सपोर्टले जानकारी दिएरै भित्र्याएकाले सुरक्षित राखेको  र जाँचपास गर्न मिल्ने भयो भने राजस्व लिएर छाड्ने र नमिल्ने भएका नियम अनुसार प्रक्रिया अघि बढ्ने बताउँदै आएका थिए । 

यसबारे उनीसँग बुझ्न खोज्दा उनको ९८५११३७१३१ नम्बर फोन उठेन् । सिल्क ट्रान्सपोर्टकै इमाडोलस्थित गोदामबाट गत पुसमा ८६ हजार थान भेप बरामद भएको थियो । उक्त मुद्दामा गोदामका दुई कर्मचारीलाई २० करोड बैंक ग्यारेन्टी लिएर थुना मुक्त गरेको छ । यसअघि सशस्त्र र नेपाल प्रहरीले अरनिको राजमार्गमा तातोपानी नाकाबाट लुकाइछिपाई ल्याइएको भेप बरामद गरेको थियो । 

कन्टेनरमा चालकले लुकाएर ल्याएको ८ सय ५५ थान भेप बरामद गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully