गाडीको 'मेटल डिटेक्ट'
हेटौंडा — दुई दिनदेखि चार जना भूगर्भविद्हरूले ६ दिनदेखि जमिन भासिएर हराएको गाडीको खोजी गरिरहेका छन्। अध्ययन टोलीले गाडी भासिएको स्थान आसपास म्याग्नेटोमिटर प्रयोग गरेर गाडीको लोकेसन पत्ता लगाउने काम गरिरहेका छन्। यद्यपि गाडी अझै भेटिएको छैन, उनीहरूले अनुमान भने गरेका छन्।
म्याग्नेटोमिटरले गाडी भासिएको स्थानभन्दा केही पूर्वतर्फ ‘मेटल डिटेक्ट’ गरेको छ। म्याग्नेटोमिटर फलामजन्य वस्तु पत्ता लगाउने एक अप्रत्यक्ष विधि भएकाले सो स्थानमा गाडी नै छ भनेर निश्चित गर्न नसकिने उनीहरूको भनाइ छ।
म्याग्नेटोमिटरले लोकेट गरेको स्थानमा भूगर्भविद्हरूले तीन स्थानमा पावर अगर विधिबाट गाडीको लोकेसन पत्ता लगाउने प्रयास गरेका थिए। उक्त क्षेत्रको चुम्बकीय आकर्षण निकै बलियो र कडा रहेको भूगर्भविद् नारायण अधिकारीले बताएका छन्।
मंगलबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म अध्ययन अनुसन्धान गरेर उनीहरूले गाडी हराएको स्थानभन्दा केही पूर्वतर्फ गाडी रहेको अनुमान गरेका थिए। बुधबार बिहान ८ बजेदेखि नै भूगर्भविद्हरु अध्ययन अनुसन्धानमा संलग्न रहेका छन्। गाडी भासिएको क्षेत्रमा रातभर संकलन भएको पानी निकाल्ने काम भइरहेको छ भने अर्को तर्फ, सो क्षेत्र वरिपरि ड्रिल गरेर जमिन र पानीको अवस्था बुझ्ने प्रयास भइरहेको छ।
'बुधबार बेलुकासम्म हाम्रो लक्ष्य पूरा हुन सक्छ,' एक भूगर्भविद्ले भने, 'गाडी भएको क्षेत्र करिब पत्ता लागिसकेको छ।'
वैशाख १९ गते हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएको थियो। शुक्रबारदेखि आइतबारसम्म खोजी गर्दा गाडी फेला नपरेपछि हेटौंडा उपमहानगरपालिकाले सो स्थानको अध्ययनका लागि खानी तथा भूगर्भ विभागका चार जना प्राविधिकहरू पठाएको हो।
उक्त टोलीले प्रोटोन म्याग्नेटोमिटर, पावर अगरलगायतका प्रविधिमार्फत अध्ययन गरिरहेका छन्। भूगर्भविद्हरूले घटनास्थलको भौगोलिक अवस्थिति, भू–बनोट, माटोको सतह आदिको अध्ययन गरेका छन्। सुरुवातमा स्थलगत निरीक्षण गरेर भूगर्भ विभागले तयार पारेको नक्साको आधारमा अध्ययन गरिएको थियो।
भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भू–बनोट कमजोर र तरलता युक्त रहेको छ। माथिल्लो सतहमा केही माटो भए पनि तल्लो भागमा बालुवा र दलदलयुक्त माटो रहेको उनले बताए। त्यही कारणले गाडी भासिएको स्थानमा दबाब उत्पन्न भई जमिन तरल बनेको उनको भनाइ छ। घटनास्थलको भू–बनोट ‘ग्लेइ सिल्ड’ प्रकृतिको रहेको र करिब ५ मिटर तल बालुवा भेटिएको उनले बताए।
पावर अगर प्रयोग गर्दा तीन स्थानमा परीक्षण गरिएको थियो, जसमध्ये दुई स्थानमा करिब ५.४० मिटर र ५.६० मिटर (झन्डै ६ मिटर) गहिराइमा फलामजन्य वस्तु फेला परेको उनले जानकारी दिएका छन्।
गाडी हराएको स्थान हेटौँडाको मुख्य चौकबाट करिब ८ किलोमिटर पूर्व पर्छ।
