सिन्धुपाल्चोकको चौतारामा रक्तसञ्चार सेवा केन्द्र 

वैशाख २४, २०८२

अनिश तिवारी

Blood Transfusion Service Center at Chautara in Sindhupalchok

सिन्धुपाल्चोक — जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा अस्पतालको प्रांगणमा बुधबार रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको  छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक र चौतारा अस्पतालको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको यो केन्द्र संञ्चालनमा ल्याइएको हो । 

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाकाअनुसार रक्त सेवा केन्द्रको व्यवस्थापकीय जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ । 'सेवा केन्द्र स्थापनापछि पहिलेझैं रगतको अभावमा भौतारिनुपर्ने बाध्यता मेटिने भएपछि स्थानीय र स्वास्थ्यकर्मी हर्षित भएका छन्, यसले हामीलाई पनि खुशी दिएको छ,' उनले भने । 

कार्यक्रम उद्घाटनसँगै सञ्चालित रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका ५१ पुरूष र १८ जना महिला गरी ६९ जनाले रक्तदान गरेका थिए । उक्त रगतलाई अस्पतालमा नै रहेको १२० पिन्ट क्षमताको रक्त सेवा केन्द्रमा भण्डार गरिराखिने चौतारा अस्पतालले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेलले सिन्धुपाल्चोकमा रक्त सञ्चार सेवाको सुदृढीकरणका लागि यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Blood Transfusion Service Center at Chautara in Sindhupalchok

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully