बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस

वैशाख २३, २०८२

सुवास विडारी

Recommendation to convene the budget session of the Bagmati Provincial Assembly on 5th June

मकवानपुर — बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बागमती प्रदेशसभाको पन्ध्रौं अधिवेशन गत २० चैतमा अन्त्य भएको थियो । 

यसैगरी, सोह्रौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो । 

यसैगरी बैठकले प्रदेशका तीन सचिव सरुवा भएर गइसके पनि आएका नयाँ तीन सचिव बैकुण्ठ अधिकारी , हेमराज भुषाल र झलनाथ अधिकारीलाई पदस्थापना गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा संगठन सरचनातम दरबन्दी मिलान गर्ने निर्णय गरेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा १३ वटा पालिकाको प्रस्तामा आएको स्वयं सेवक समूह गर्ने अनुमोदन गर्ने निर्णय गरेको छ । 

यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत गर्ने निर्णय गरेको र प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सिफारिमा प्रदेश भूउपयोग परिषद्‍मा विशेषज्ञ सदस्यका रूपमा विष्णुप्रसाद लामिछाने र हरिप्रसाद सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।  

साथै स्वस्थ्य तथा पर्यटन मन्त्रालयको प्रस्तावमा संगठन संरचना दरबन्दी तेरिज गर्ने निर्णय गरेको छ भने सामाजिक विकास मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश विश्वविद्यालय संरक्षण समितिको सदस्यमा रामप्रसाद रिमाल र प्रदेश उच्च शिक्षा सदस्यमा प्रा.डा.चन्द्रमनि पौडेललाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully