हेटौंडा — पाँच दिनअघि जमिन मुनि भासिएर सिंगल क्याप बलेरो गाडी (भ्यान) हराएको क्षेत्रको स्थलगत अध्ययन अनुसन्धान गर्न चार जना भुर्गभविद् बुधबार बिहान घटनास्थल पुगेर अध्ययन अनुसन्धान सुरु गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा सडक भासिएर शुक्रबार दलदलमा गाडी फसेर अहिले हराएको छ । उक्त क्षेत्रको अध्ययन अनुसन्धान गर्न हेटौंडा उपमहानगरपालिकाको आग्रहमा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाल र खानी तथा भूगर्भ विभागका ल्याव टेक्निसियन अमर बहादुर थापा हेटौंडा आएर घटनास्थलमा अध्ययन गरिरहेका छन् ।
भूगर्भविदहरुले जमिनमा भासिएर हराएको गाडीका चालक हरेराम राईसँग घटनाको विस्तृत विवरण लिनुका साथै उक्त क्षेत्रका पुराना बासिन्दा भैरव राईलगायत स्थानीवासँग गैरीगाउँ क्षेत्रका जमिन र पानीबारे प्रारम्भिक जानकारी लिएका थिए । गाडी हराएको क्षेत्रबाट सय मिटर वरपर कसैलाई पनि आउजाउ गर्न दिएको छैन ।
जोखिमयुक्त क्षेत्र भएका कारण सुरक्षित हुनका लागि सय मिटर वरिपरी कसैलाई पनि आउजाउ गर्न नदिएको भूगर्भविद नारायण अधिकारीले बताए । ‘यो क्षेत्रमा सयौं वर्षअघि ताल थियो, यसको जमिनमुनि कालोमाटो छ,’ एक भूगर्भविद्ले भने, ‘भूकम्प र वोरिङको कारणले जमिनको तत्लो भागमा भ्वाङ परेको हुन सक्छ, अध्ययनबाट खुल्न सक्छ ।’
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियालगायत नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा भूगर्भविद्हरुले आफनो अनुसन्धानको काम अघि बढाएका छन् । अध्ययनपछि आउने नतिजाले त्यहाँ के भएको हो भन्ने पत्ता लाग्ने अधिकारीको भनाइ छ ।
एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) मंगलबारसम्म फेला परेको छैन । उक्त घटनालाई लिएर आइतबार हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो ।
प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठसमेतको उपस्थिति रहेको बैठकले उक्त क्षेत्रको बारेमा भूगर्भविद्लाई ल्याएर अध्ययनपछि मात्र गाडीको खोजी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि हेटौंडा उपमहानगरपालिकाको आग्रहमा चार जना भूगर्भविद्हरु हेटौंडा आएर अध्ययन सुरु गरेका हुन् ।
आइतबारदेखि नै उक्त क्षेत्रमा आउजाउ गर्न र गाडी खोजी कार्य रोकिएको थियो । सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) जमिनमुनि हराएपछि उक्त घटनास्थल नजिक रहेको पक्की घरका धनी पनि चिन्तित बनेका छन् । कति बेला घर नै भासिने हो कि भन्ने चिन्ता उनलाई छ ।
उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासी सडक भासिदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५/७ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य गर्दा पनि गाडी भेटिएन । गाडी भासिएको क्षेत्र कर्रा खोलाको करिडोर पनि हो ।
