हेटौंडा — वर्षाका कारणले बागमती पुलको डाईभर्सन बगाएपछि कान्ति लोकपथ शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।
शुक्रबार र शनिबार परेको पानीले कान्तिलोकपथस्थित बागमती पुलको ललितपुरतर्फको डाइभर्सन बगाएकाले सडक अवरुद्ध भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती पुलको ललितपुरको बगुवातर्फ डाइभर्सन बगाएकाले सवारी साधनहरु पुलबाट आवत जावत बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
गत असोज ११ र १२ गतेको बाढीले बागमती पुलको दुवैतर्फ डाईभर्सन बगाएको थियो । मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको थियो । शुक्रबार र शनिबार परेको पानीका कारण कान्तिलोकपथको मकवानपुर क्षेत्रका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएको छ ।
