नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

वैशाख १७, २०८२

ज्योती श्रेष्ठ

Namobuddha Municipality Declaration of Purnakhop Guaranteed Municipality

काभ्रे — नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । बुधबार पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।

राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको नगरप्रमुख लामाले प्रस्ट पारे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं समन्वय समिति प्रमुख दिपककुमार गौतमले नगर प्रमुख भण्डारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । समन्वय प्रमुख गौतमले नगरपालिकाले हरेक क्षेत्र विकाससँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमकितामा राखेर काम गरिरहेको र नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा भए पनि यसको दिगोपनाको चुनौतीहरु रहेको उल्लेख गर्दै नगरपालिकाले खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समन्वय प्रमुख गौतमले बताए । त्यस्तै, जेठ महिनामा काभ्रे जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

काभ्रेका १३ वटै स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षकै पहिलो पालिका भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पारथमणि न्यौपानेले बताए । उनका अनुसार, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोपको महत्त्वपूर्ण भूमिका रहेको छ । यद्यपि नेपालमा बालबालिकालाई लगाइने खोपको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको उनको भनाइ थियो । 

कार्यक्रममा नगरप्रमुख लामाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र मानवीय विकासको क्षेत्रमा नगरपालिका एक कदम अगाडि रहेको बताए । उनका अनुसार, पालिकालाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय रहेको छ । उनका अनुसार, संविधानको मर्मअनुसार स्थानीय सरकारले काम गरेको र जनप्रतिनिधिहरुले बनाएको नीतिलाई स्वास्थ्यकर्मीहरुले सफल बनाएर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully