कान्ति लोकपथ बिहीबारदेखि दैनिक ६ घन्टा बन्द हुने

वैशाख १७, २०८२

प्रताप विष्ट

Kanti Lokpath will be closed for 6 hours daily from Thursday

हेटौंडा — काठमाडौं जोड्ने कान्ति लोकपथ सडक खण्डमा दैनिक ६ घन्टा सवारी आवागमन बिहीबारदेखि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा मकवानपुरको बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बिहीबार १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने कुरा उल्लेख गरिएको छ ।  

ठिगंन–बगुवा सडकखण्ड अन्तर्गत गंगटे नजिकैको भर्‍याङ डाँडामा सडक बिस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने सूचनामा उल्लेख छ ।

वैशाख १८ गते अर्थात बिहीबारदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दैनिक ६ घन्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख गरिएको छ । सडक बन्द हुने समयमा काठमाडौं–हेटौंडा वा हेटौंडा–काठमाडौं यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन् । 

कान्ति लोकपथ आयोजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार, यस सडक खण्डको सिंगल लेनलाई डबल लेन बनाउने कार्यका साथै ढलान निर्माण तथा कालोपत्रे समेत गरिनेछ । निर्माण कार्य एम/फाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीले गरिरहेको छ भने सुपरिवेक्षण कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले गरिरहेको छ ।

२०८१ असोज १३ गते आएको भारी वर्षाका कारण क्षति पुगेको बागमती पुलमा बेलिब्रिज जडान गर्ने काम पनि तीव्र गतिमा अघि बढिरहेको बज्राचार्यले बताइन् । प्रशासनले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा काठमाडौं–हेटौंडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रताप विष्ट

Link copied successfully