हेटौंडा — पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ मा यात्रुबाहक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नं. को यात्रु बाहक बसको ठक्करबाट पर्सा सखुवा पर्सौनी गाउँपालिका–३ कटैयाका ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका अन्सारीको उपचारको क्रममा सोमबार बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । बसले उनलाई आइतबार राति पौने १२ बजे ठक्कर दिएर घाइते बनाएको थियो ।
ठक्कर दिने बस र बसका चालक उदयपुर कटारी नगरपालिका–२ का ३९ वर्षीय युवराज माझीलाई अमलेखगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पैदल यात्रुलाई ठक्कर दिने बितिक्कै बस लिएर चालक अमगलेखगन्जतर्फ गएका थिए ।
मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रकको धनी भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई उक्त क्षेत्रमा ट्रक बिग्रिएर मर्मतको लागि मिस्त्री बोलाएपछि ट्रक मर्मत गरेर मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसले ठक्कर दिएको थियो ।
