कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

वैशाख १२, २०८२

सुवास विडारी

Kanti Lokpath will be closed for 6 hours daily

मकवानपुर — कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं पुग्ने कान्ति लोकपथअन्तर्गतको ठिंगन–बगुवा सडकखण्डमा चट्टान कटान सुरु गर्न आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनानुसार, २०७९–८० को सडक चौडाइ विस्तार परियोजनाअन्तर्गत गंगटे नजिकको ‘भाँडडाँडा’ क्षेत्रमा रहेको जोखिमयुक्त चट्टान हटाउने काम गरिनेछ । यस क्रममा वैशाख १८ देखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ ।

आयोजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार, यस सडकखण्डको सिंगल लेनलाई डबल लेन बनाउने कार्यका साथै ढलान निर्माण तथा कालोपत्रे समेत गरिनेछ । निर्माण कार्य एम/फाइभ सर्वशक्ति–पञ्चकन्या–सनस्टार जेभी कम्पनीले गरिरहेको छ भने सुपरिवेक्षण कान्ति राजमार्ग सडक आयोजना, चाकुपाट ललितपुरले गरिरहेको छ ।

२०८१ असोज १३ गते आएको भारी वर्षाका कारण क्षति पुगेको बागमती पुलमा बेलीब्रिज जडान गर्ने काम पनि तीव्रगतिमा अघि बढिरहेको बज्राचार्यले बताइन् । 

प्रशासनले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा काठमाडौं–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully