दोलखाका ४ सामुदायिक वनमा वन व्यवस्थापन कार्यक्रम लागू

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Forest management program implemented in 4 community forests of Dolakha

दोलखा — दोलखाको चार सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । डिभिजन वन कार्यालयले भीमेश्वर नगरपालिकाको खोरथली र थाङसा देउराली, जिरीको जिरेश्वरी र वैत्यश्वर गाउँपालिकाको  विषेश सामुदायिक वनको दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

यी सामुदायिक वनमा पुनरुत्पादन कटान, प्रजाति रुपान्तरण लगायतका काम हुने डिभिजन वन कार्यालय प्रमुख कृष्णराज न्यौपानेले बताए । चार सामुदायिक वनको दिगो वन व्यवस्थापन हुँदा करिब ८३ हजार क्युफिट काठ कटान हुने उनको भनाइ छ । उक्त काठबापत यी सामुदायिक वनले करिब १ करोड ३० लाख आम्दानी लिने उनले बताए । 

भीमेश्वर–१ को थाङसा देउरालीबाट भने डिभिजन वनले डढेलोले सुकेका रुख हटाउने कार्य गर्नेछ । जंगलको अवस्था हरेर खोरथली घना जंगल व्यवस्थापन गर्न हरेक वर्ष २ हजार रुख काटिनेछ । खोरथलीमा प्रजातिको रुपान्तरण र वनको नयाँ प्लान्ट प्रदर्शनीस्थलसमेत बनाइनेछ । 

बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको कार्यक्रमअनुसार वनलाई आर्थिक पाटोसँग जोड्न दिगो वन व्यवस्थापन कार्यक्रम पहिलोपटक सुरु गरेको उनले बताए । यस्तै कार्बन उत्सर्जनमा समेत दिगो वन व्यवस्थापनले मद्दत गर्ने उनले बताए । ‘६० वर्षसम्मको दिगो कार्य योजना बनाएर वन व्यवस्थापन सुरु गरेको छौं,’ उनले भने, ‘जसअनुसार यो वर्ष करिब ४ वटा वन व्यवस्थापन हुन्छ, त्यसबापत सामुदायिक वनले १ करोड ३० लाख जति आम्दानी गर्नेछ ।’ 

रुख काटिएका क्षेत्रमा माउ रुख राखिने उनले बताए । आगामी वर्षबाट भने जिल्लाका ५० वटा सामुदायिक वनमा यो कार्यक्रम सुरु गरिने योजना बनाइएको छ । ‘समुदायले वनलाई हुर्काए, घना पनि बनाए तर दिगो व्यवस्थापन नहुँदा आम्दानी लिन सकेका थिएनन्,’ उनले भने, ‘पाइलट प्रोजेक्टका रुपमा सुरु गरेका थियौं, धेरै सामुदायिक वनले अवलोकन गरेपछि दिगो वन व्यवस्थापनमा सहयोग गरिदिन भनेका छन् ।’ 

हरेक वर्ष डढेलोले सयौं हेक्टर वन सखाप हुँदा करौडौंका रुख जलेर नष्ट हुने गरेकाले दिगो व्यवस्थापन गर्न यो कार्यक्रम सुरु गरेको उनले बताए । कार्यविधिले ४० इन्चभन्दा माथिका गोलाइ भएका रुख काटिने उनको भनाइ छ । हाल १० वर्षको कार्यविधि बनाइएको छ ।

कान्तिपुर

Link copied successfully