मकवानपुर — मकवानपुर प्रहरीले ५७ हजार ५ सय क्याप्सुल अवैध लागूऔषध ट्रामाडोलसहित हेटौंडाबाट २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-७ बेनौली बस्ने २५ वर्षका तीर्थलाल पासवान र सोही स्थानका २३ वर्षका सुनिल पटेल रहेका छन् ।
प्रहरी चौकी रातोमाटेले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटे चेकप्वाइन्टमा बाराबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीबाट अवैध लागूऔषध ट्रामाडोलसहित उनीहरुलाई पक्रेको हो ।
शंकाको आधारमा गाडी खानतलासी गर्दा गाडीको अगाडिको इञ्जिन भएको भागमा लुकाएर ल्याएको अवस्थामा ५७ हजार ५ सय क्याप्सुल ट्रामाडोल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त लागूऔषध बजारमा प्रति पत्ता ७२ रुपैयाँमा विक्री हुने गरेको बताइएको छ । नियन्त्रणमा लिइएको लागूऔषधको बजार मूल्य ४ लाख १४ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले लागूऔषध ल्याएको गाडीसहित चालक र सहचालक दुवैलाई नियन्त्रणमा लिएको हो । पासवान गाडीको चालक र पटेल सहचालक भएको अर्यालले बताए । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले पछिल्लो समय दैनिकजसो लागूऔषधसहित मानिसलाई नियन्त्रणमा लिइरहेको छ ।
