सिन्धुपाल्चोक — जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कमा ढुंगा झिक्ने क्रममा पहिरो झरेर एक्स्काभेटर पुरिँदा चालक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयअनुसार यहाँका एक्स्काभेटर चालक २५ को रेशम दराई मंगलबारदेखि सम्पर्कमा छैनन् ।
सहचालक मेलम्ची नगरपालिका-८ केउरेनी बस्ने १७ वर्षीय उमेश गिरी भागेर सकुशल छन् ।
ढुंगा खसिरहेको कारण पहिरो नजिक जाने अवस्था नरहेको जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताए ।
'उक्त स्थानमा प्रहरी चौकी टिपेनीबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको कमाण्डमा २ र बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको टोली खटिगएका छन् भने चालकको सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको छ तर केही खबर छैन्,' उनले भने ।
हाल सुरक्षाकर्मीको टोली खटिरहेको एक्स्काभेटर ल्याई पहिरो हटाउनका लागि स्थानीय निकायसँग समन्वय भइरहेको उनले जनाए ।
