मकवानपुर — लागूऔषध उत्पादन, सेवन र बिक्रीमा देशमै नाम कहलिएको मकवानपुरमा चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा १९३ जना पक्राउ परेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ म २४९ जना पक्राउ परेकोमा यो आर्थिक वर्षको नौ महिनामा १९३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ । १२६ वटा लागूऔषधको मुद्दामा १८१ पुरुष र १२ महिला गरी १९३ जनालाई पक्रेको हो ।
यस आर्थिक वर्ष लागूऔषध मुद्दामा १६९ नेपाली पुरुष र १२ विदेशी पुरुष पक्राउ पर्दा ११ नेपाली महिला र एक विदेशी महिला मकवानपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुरमा लागूऔषधको कारोबार र सेवन भयावह र डरलाग्दो अवस्थामा रहेको उनले बताए । ‘अघिल्लो आर्थिक वर्षमा १५८ वटा लागूऔषधको मुद्दामा २४९ जनालाई पक्रेकोमा चालु आर्थिक वर्षमा १९३ जनालाई पक्रिसकेका छौं’, प्रवक्ता अर्यालले भने, ‘पक्राउ परेका अधिकांश युवाहरु रहेका छन् ।’ पक्राउ परेकामध्ये ८० प्रतिशत मानिस ३५ वर्षभन्दा कम उमेर समूहको रहेको बताइएको छ । किशोरीको संलग्नता पनि बढ्दो क्रममा रहेको अर्यालले जानकारी दिए ।
‘लागूऔषध ओसारपसार तथा सेवनमा १४/१५ वर्षका किशोरी समेत पक्राउ परेका छन् । लागूऔषधको मामलामा मकवानपुर ‘रेड जोन’ मा रहेको छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अर्यालले भने । मकवानपुरका अधिकांश लागूऔषध प्रयोगकर्ताले ब्राउन सुगर सेवन गर्ने गरेको प्रहरीले बताएको छ । अफिम सेवन गर्नेहरु यहाँ खासै नरहेको उनले बताए ।
‘मेडिकल औषधिजन्य लागूऔषध र ब्राउन सुगरको सेवनकर्ता बढी रहेको छ’, उनले थपे, ‘अफिम खाने खासै पाइएको छैन । गाँजा खाने पनि निकै कम छ ।’ प्रहरीले प्रत्येक दिनजसो जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित मानिस पक्राउ गरिरहेको छ । लागूऔषधको विषयमा सबैले आ–आफ्नो तबरबाट जनचेतना फैलाउन जरुरी रहेको प्रहरीको भनाइ छ ।
‘हामीले मात्र चाहेर लागूऔषध न्यूनीकरण हुँदैन । परिवारदेखि सचेतना जरुरी छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले भने । प्रहरीले लागूऔषध फँडानी, चेकिङमा कडाइ र जनचेतना अभियान सञ्चालन गरिरहेको भएपनि मकवानपुरमा यसको उत्पादन, ओसारपसार र सेवनमा कुनै कमी नआएको उनको भनाइ छ ।
