गणतान्त्रिक संघर्षपछि मुलुक समावेशीतर्फ अघि बढेको छ : पूर्वराष्ट्रपति यादव

वैशाख ८, २०८२

ज्योती श्रेष्ठ

After the republican struggle, the country has moved towards inclusiveness: Former President Yadav

काभ्रे — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतान्त्रिक संघर्षको फलस्वरूप मुलुक समावेशीतर्फ अघि बढेको बताएका छन् ।

सोमबार काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ स्थित फूलबारीमा नव क्षितिज साप्ताहिकको रजत उत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा लोकतन्त्र र गणतन्त्रको स्थापनासँगै समावेशी विकासले गति लिएको बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले धर्म, गंगालालजस्ता सहिदहरूको बलिदानीबाट सुरु भएको गणतान्त्रिक आन्दोलन अहिले ८५ वर्षको लामो यात्रापछि साक्षरतायुक्त, समावेशी र सहभागितामूलक समाज निर्माणतर्फ उन्मुख भएको बताए ।

उनले नेपालमा १७ वर्षको गणतान्त्रिक अवधिमा मात्र निजामती सेवामा २५ हजार २२८ पद समावेशी कोटाबाट जनजाति, दलित, मुस्लिम, महिला लगायत पछाडि पारिएका समुदायका लागि सिर्जना हुनु ऐतिहासिक उपलब्धि भएको धारणा राखे । 

‘देश लोकतान्त्रिक, समावेशी शासन प्रणालीमा अगाडि बढिरहेको छ,’ डा. यादवले भने, ‘तर यसप्रति जनताले सही जानकारी पाउनुपर्छ । इतिहास बुझ्नुपर्छ, यो इतिहासको ऐनामा वर्तमानलाई हेर्नु आवश्यक छ ।’

राजनीतिक इतिहासप्रति चासो राख्न र गहिराईमा बुझ्न आग्रह गर्दै, उनले गणतन्त्रको यात्रा अझ सशक्त बनाउन साक्षरता, सहभागिता र समावेशीताको महत्व बुझ्न जरुरी रहेको उनको भनाइ थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully