एमाले भरतपुरको अध्यक्षमा थपलिया नै दोहरिए

वैशाख ७, २०८२

रमेशकुमार पौडेल

Thapalia was re-elected as UML Bharatpur president

चितवन — नेकपा एमाले भरतपुर महानगरपालिकाको अध्यक्षमा शंकर थपलिया नै दोहरिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गरेको महानगर कमिटीको दोस्रो अधिवेशनमा शनिबार राति नयाँ नेतृत्व चयन भएको हो । थपलिया सर्व सहमतिमा पुनः अध्यक्ष भएका हुन् ।

थपलियाको अध्यक्षतामा ९५ सदस्यीय महानगर कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवहरुमा गीता श्रेष्ठ, दयाराम चौधरी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । 

त्यसैगरी लेखा कमिटी अध्यक्षमा होमकुमार शर्मा आचार्य चयन भएका छन् । अधिवेशनको उद्‌घाटन गर्दै प्रमुख अतिथि ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएका थिए । सहमति हुनै नसकेमात्र चुनाव गराउन उनको निर्देशन थियो । नव निर्वाचित महानगर कमिटीलाई एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले शनिबार नै शपथ ग्रहण गराएका छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully