५ किलो अफिमसहित एकजना पक्राउ

वैशाख ७, २०८२

सुवास विडारी

One arrested with 5 kg of opium

मकवानपुर — मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई अफिमसहित नियन्त्रणमा लिएको थियो ।

तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा ५ किलो ९४० ग्राम अफिम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully