राक्सिराङ गाउँपालिकामा खानेपानी परीक्षण प्रयोगशाला स्थापना

वैशाख ६, २०८२

प्रताप विष्ट

Establishment of drinking water testing laboratory in Raksirang Rural Municipality

हेटौंडा — पानीकै कारणले विभिन्न किसिमका रोग लाग्ने भएकाले  मकवानपुरको एक गाउँपालिकाले खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।

राक्सिराङ गाउँपालिकाले पालिकाका स्थानीयहरुले प्रयोग गरिरहेका खानेपानीको गुणस्तर परीक्षण गर्न परीक्षण प्रयोगशाला स्थापना गरेको हो । मकवानपुरमा पालिकाहरुले पानी परीक्षण प्रयोगशाला स्थापना गरेको यो पहिलो हो ।

विकट गाउँका खानेपानीको मुहान तथा धाराको पानीको गुणस्तर जाँच गरी स्थानीयको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ गाउँपालिका–५ ठाडोचुरीमा स्थापना गरिएको प्रयोगशालाको शुक्रबार उद्‌घाटन गर्दै गापा अध्यक्ष मल्लले भने,‘पानीकै कारणले पालिकाका बासिन्दा विभिन्न रोगबाट ग्रसित हुने गरेकाले पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो ।’

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) सहयोगमा प्रयोगशाला स्थापना गरिएको हो । १२ लाख रुपैयाँ लागतमा स्थापित प्रयोगशालामा खानेपानीका विभिन्न ११ प्रकारका परीक्षण गरिने जनाइएको छ । प्रयोगशालामा खानेपानीमा आइरन, क्लोराइड, फस्फोरेट, कोलिफर्मलगायतको मात्राको परीक्षण हुनेछ । 

पालिकामा कार्यरत स्वास्थ्य शाखाका दुई जना स्वास्थ्यकर्मीलाई पानी परीक्षणको तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । पालिकामै पानी परीक्षण प्रयोगशाला स्थापना भएपछि पानी परीक्षण गर्न अब हेटौंडा र चितवन धाउनुपर्ने बाध्यता हटेको पालिकाका अध्यक्ष मल्लले बताए । 

प्रताप विष्ट

Link copied successfully