मकवानपुरगढीमा गाडी दुर्घटना, २ जनाको मृत्यु, ११ घाइते

वैशाख ५, २०८२

प्रताप विष्ट

Car accident in Makwanpurgarhi, 2 dead, 11 injured

हेटौंडा — कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुरगढी—२ धरमपानी सडक खण्डमा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउत र सर्लाही बागमतीकी १३ वर्षीया मानुसी मगर रहेकी छन् ।

मृतकहरुको शव बिहान उज्यालो भएपछि मात्र फेला परेको थियो । गाडी शुक्रबार १ बजे राति दुर्घटना भएको थियो । ५ जना घाइतेको हेटौंडा अस्पतालमा र ६ जनाको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बर विद्युतीय गाडी सडकबाट तल खसेर दुर्घटना भएको थियो । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ । 

सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९  वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । 

प्रताप

Link copied successfully