हेटौँडा — मकवानपुरको राक्सिराङ गाउँपालिकाको ४३ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
जिल्लाकै दुर्गममा रहेको राक्सिराङको कार्यालय भवनको निर्माण कार्य ८० प्रतिशत भन्दाबढी भइसकेको छ।गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा २०७८ असारदेखि निर्माण सुरु भएको भवन चार तले ४३ कोठे छ। सम्झौता अनुसार ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिनु पर्ने छ ।
भवन निर्माणको काम जयमाता ईन्जिनियरिङ निर्माण कम्पनीले गरिरहेको छ। सम्झौताअनुसार समयमै काम सक्ने गरी काम अघि नबढेको गाउँपालिकाका प्राविधिक विनोद पराजुलीले बताए। करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा उक्त कार्यालय भवन बनिरहेको छ।
उक्त भवन तयार भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। अहिले गाउँपालिकाले एक तले कच्ची भवन निर्माण गरेर पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ भने स्वास्थ्य, कृषिलगायत शाखाहरू अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका छन्।
