जुगलमा तीन घर जले, एकमा आंशिक क्षति

वैशाख ३, २०८२

अनिश तिवारी

Three houses burnt, one partially damaged in Jugal

सिन्धुपाल्चोक — जिल्लाको दुर्गम भेग जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएका छन्। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार यहाँका स्थानीय प्रेम श्रेष्ठ, मिलन श्रेष्ठ र कुमार श्रेष्ठको घर जलेको हो। एक घरमा आंशिक क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन।

आगो नियन्त्रणमा ल्याउन नसकिँदा पसल, सरसामान, वस्त्र, अन्नपात सबै जलेर नष्ट हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले आगलागीको कारण खुल्न नसकेको र तीन घरमा आगो लागेको जानकारी दिए।

‘सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन। प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर आगो निभाउने प्रयासमा छन्। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। सावधानी अपनाउँदा मानवीय क्षति हुन पाएन,’ उनले भने।

हाल आगलागीमा घरसहित सम्पूर्ण अन्नपात नष्ट भएकाले पीडित परिवारले तुरुन्तै राहत र सहयोगका लागि सम्बन्धित निकायसँग अनुरोध मागेका छन्।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully