आगलागीपीडित बासविहीन
सिन्धुपाल्चोक — जिल्लाको दुर्गम भेग जुगल गाउँपालिका-३ स्थित हाब्रामा लागेको भीषण आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय जलबिरेकाअनुसार आगो नियन्त्रणमा ल्याउने प्रयासबीच पनि पाँच घर जलेर ध्वस्त भएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवकाअनुसार दिउँसो १ बजे हाब्रास्थित ५ वटा घरमा करेन्ट सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा बल्लतल्ल आगो पूर्ण रुपमा नियन्त्रणमा आएको उनले जनाए । उनका अनुसार जुगल-३ हाब्रा बस्ने प्रेम श्रेष्ठको घरबाट करेन्ट सर्ट भई आगो लाग्न सुरु भएको थियो । ढुंगा-माटोले बनेको जस्ताले छाएको उनको दुई घरसहित कुमार श्रेष्ठ, मनकुमारी श्रेष्ठ, मिलन श्रेष्ठको ढुंगा माटोले बनेको जस्ताले छाएको घर क्षतिग्रस्त भएको छ ।
सुन, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात नगद रुपैयाँ गरी ५८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ । 'आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन्, सावधानी अपनाउँदा मानवीय क्षति हुन पाएनन्,' उनले भने ।
