सिन्धुपाल्चोक — वरिपरि हिमशृंखला, लेकाली डाँडाबीच घेरिएको चिटिक्कको गढ पर्खाल, पुरानै शैलीका भवन र गोदामस्थल । तोपले क्षतविक्षत बनेका वरिपरिका चट्टानबाट तिब्बती गाउँ छर्लङ्गै देखिन्छ । भोटेकोसी गाउँपालिका–३ स्थित ऐतिहासिक दुगुनागढीस्थल पुग्नेले १ सय ६० वर्षपछाडि फर्किएको अनुभव गर्छन् । भोटेकोसी–३ का वडाध्यक्ष निमासोना शेर्पाका अनुसार दुगुनागढीलाई पुरानो स्वरूपमा ठड्याइएपछि आकर्षणको केन्द्र बन्न पुगेको छ ।
‘गढीमा तोप ढुंगा (तोप प्रहार गर्ने स्थल जहाँ पाइलाको चिह्न देखिन्छ), घोडा टाप छापदेखि गोलघर वा गोदामस्थललाई पहिलेकै प्राचीन अवस्थामा ल्याइएको छ,’ उनले भने ।
यसअघि प्रदेश सरकारको ३० लाख र स्थानीय सरकारको सक्रियतामा १ सय ६० वर्ष पुरानो ठूलो दुगुनागढी पुनर्निर्माण गरिएको थियो । अहिले यहाँ घुम्न र हेर्न आउनेको लर्को लाग्न थालेको छ । ‘अधिकांश दुगुनागढी हुँदै भैरवकुण्डसम्म पुग्ने गरेका छन्, दैनिक ३० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक दुगुनागढीमा तानिन थालेका छन्,’ पर्यटन व्यवसायी कुमार राउतले भने । राष्ट्रिय विभूति कलाकार अरनिकोलाई सम्झँदै भोटेकोसी–५ स्थित त्याङ्थलीमा बनाएका घरसहित पाँच गाउँमा घरबास (होमस्टे) चलाइएको छ ।
ऐतिहासिक दुगुनागढी, बगाम, छगाम, अन्थलीमा घरबास सञ्चालनमा आइसकेको छ । पुराना संस्कृति झल्कने मौलिक जीवनशैली, परम्परा र मौलिक अर्गानिक परिकार र खानपानको व्यवस्थाले गर्दा पर्यटक यहाँको मौलिक संस्कृतिमा आकर्षित हुने गरेका छन् । पहिलेझैं प्राचीन स्वरूपमा त्यहाँकै ढुंगा राखेर बनाएकाले पुरानै संरचनाको महसुस हुने गरेको छ । पर्खाल भत्किएकै स्थानबाट उठाएर त्यहीँ प्रयोग गरिएकाले दुगुनागढीको शोभा बढेपछि स्थानीय दंग परेका छन् ।
वि.सं. १९१२ मा नेपाल–तिब्बतीबीच भएको लडाइँमा नेपालको युद्ध सुरक्षाका लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उक्त गढी निर्माण गरेको इतिहास छ । नेपालका ऐतिहासिक १० गढीमध्ये एक मानिने दुगुनागढीको मौलिकता फर्काउँदै स्थानीय आफैं संरक्षणमा जुटिरहेका छन् । अत्याधुनिक सुक्खा बन्दरगाहछेउको पुल तरेपछि पुगिने रमणीय दुगुनागढीबाट चारैतिरका पहाडी भेग, नदीनालाजस्ता दृश्य नियाल्न सकिन्छ ।
करिब ४२ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त गढीमा रहेका विशाल ढुंगाको पहराको खोचमा तत्कालीन समयमा युद्ध गर्दा जंगबहादुरले सुरक्षाका लागि गढी बनाएको इतिहास छ । त्यहाँबाट युद्धका क्रममा तिब्बती भेगमा तोपसमेत प्रहार गरिएको बुढापाका बताउँछन् । पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्यांकमा दुगुनागढीलाई विशेष महत्त्व दिएकाले भूकम्पअघिसम्म दुगुनागढी मर्मतसम्भारमा नेपाली सेना, सशस्त्र प्रहरी बेलाबेलामा जाने गर्थे ।
भूकम्पअघि वार्षिक दुई हजारभन्दा बढी पश्चिमी मुलुकका पर्यटक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । यही तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउने जाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । यी पर्यटकले होमस्टेको आनन्द लिने गरेका थिए । भूकम्पको आठ वर्षपछि क्रमशः होमस्टे पुरानै अवस्था फर्किएपछि नाका सर्वसाधारणका लागि खोलिएलगत्तै घरबासमा चहलपहल फर्किरहेको देखिन्छ ।
