चितवनमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, १० जना घाइते

वैशाख १, २०८२

रमेशकुमार पौडेल

Separate accidents in Chitwan: Two dead, 10 injured

चितवन — चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सौराहामा जंगल सफारी गर्न हिँडेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सोमबार बिहान ५ बजे भरतपुर महानगरपालिका-४ सापकोटा चोक नजिक कारले ठक्कर दिँदा पैदलयात्री पर्साको सखुवा प्रसौनी नगरपालिका-२ का २५ वर्षीय लालबाबु पासवानको मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले जानकारी दिए।

उनका अनुसार बा प्र ०६-००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर  दिएको थियो।  गम्भीर घाइते पासवानको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको हो।

त्यस्तै, आइतबार साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका-९ सिमलटाँडी चोकमा भारतीय ट्रक युपी ४० टी ३९५६ ले ठक्कर दिँदा खैरहनी-१ का ६४ वर्षीय केशवबहादुर कर्मचार्यको मृत्यु भएको छ। ट्रकले कर्मचार्यले चलाएको ना ४४ प १३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते कर्मचार्यको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

त्यस्तै, पर्यटकीय क्षेत्र सौराहामा जंगल सफारीमा जाने जीप पल्टिँदा जीपमा रहेका १० जना घाइते भएका छन्। प्रहरीका अनुसार ना ४ च ३३५५ नम्बरको जीप अनियन्त्रित भएर पल्टिँदा सौराहा घुम्न आएका आन्तरिक पर्यटकहरू घाइते भएका हुन्। घाइतेमध्ये तीन जना सख्त घाइते छन् भने अन्यको अवस्था सामान्य छ। तीन जना घाइतेहरूलाई भने उपचारका लागि अस्पताल लगिएको छ। 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully