स्थानीय उत्पादन बेच्न पटिहानीमा रैथाने बजार

वैशाख १, २०८२

रमेशकुमार पौडेल

Raithane market in Patihani to sell local produce

चितवन — गाउँमा उत्पादन हुने तरकारी, दुग्ध पदार्थ, हस्तकला लगायतका सामग्री बिक्री गर्न भरतपुर महानगरपालिका-२२ पटिहानीमा रैथाने बजार सुरु भएकाे छ । नयाँ वर्षका दिन पारेर साेमबार महानगरपालिकाकी मेयर रेनु दाहालले बजारकाे उद्घाटन गरिन् । भरतपुर-२२ वडा कार्यालयले बजारकाे व्यवस्थापन गरेकाे हाे ।

'स्थानीय उत्पादक र उपभाेक्ताबीच सिधा किनबेच हाेस्, बिचाैलियाको प्रवेेश नहाेस् भन्ने उद्देश्यले यस्ताे बजार सुरु गरेका हाैं,' भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महताेले भने । पटिहानी कमलपाेखरी वडा कार्यालय आडमा रैथाने बजार सञ्चालन हुनेछ ।

हरेक शुक्रबार दिउँसाे तीन बजेदेखि साँझ आठ बजेसम्म बजार सञ्चालन हुने वडा सदस्य दीपक पाैडेलले बताए  । तत्कालका लागि २२ वटा स्टलमा स्थानीय उत्पादन बिक्रीका लागि राखिनेछ ।Raithane market in Patihani to sell local produce

मेयर दाहालले महानगरपालिकाले कृषिका लागि विभिन्न कार्यक्रम गरिरहेकाे र बजारीकरणका लागि रैथाने बजार सहयाेगी हुने भनाइ राखिन् । कार्यक्रममा बाेल्दै पर्यटकीय हाेटल कसरा रिसाेर्टका महाप्रबन्धक सन्ताेष कुँवरले रैथाने उत्पादन पर्ययटककाे राेजाइमा पर्ने बताए । 'यसले हाम्राे पहिचान बढाउँछ । स्थानीय अर्थतन्त्रमा पनि टेवा दिन्छ,' कुँवरले भने ।

चितवन उद्याेग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले पटिहानी पर्यटकीय क्षेत्रका रूपमा उदाउँदै गएकाे र कृषि उत्पादन र बिक्री बढ्ने सम्भावना देखिएकाे बताए । रैथाने बजारले किसानलाई बजारसँग जाेड्न भूमिका खेल्ने उनले आशा व्यक्त गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully