काभ्रे — तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट जारी गरिएको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको परिधिभित्र रही अघि बढ्न आग्रह गरेका छन् । आइतबार काभ्रेको नमोबुद्ध नगरपालिका-१ मा आयोजित स्वास्थ्य चौकी भवन उद्घाटन, बालमैत्री वडा घोषणा तथा प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानविपरीत गएर केही पनि हासिल नहुने स्पष्ट पारे।
'चित्त नबुझेका विषयलाई विधि र प्रक्रियामार्फत उठाउन सकिन्छ,' उनले भने, 'संविधान संशोधन गर्न सकिन्छ तर त्यसको परिधिभित्रै रहेर गर्नुपर्छ ।' २०१७ सालमा गुमाएको अधिकार ३० वर्ष लामो संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले अहिलेको अधिकार सहज रूपमा नपाइएको, संघर्षकै फलस्वरूप प्राप्त भएको बताए । अधिनायकवादी व्यवस्थामा नागरिकको अधिकार कुण्ठित मात्र नभई विकास पनि ठप्प भएको स्मरण गराउँदै गणतन्त्रपछि देश विकासको गतिमा अगाडि बढिरहेको उनले दाबी गरे ।
शहर निर्माण गर्दा सौन्दर्यमा मात्र नभई नागरिकलाई आवश्यक सेवा–सुविधामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
नमोबुद्धका ११ वटै वडामा आधुनिक स्वास्थ्य सेवा विस्तार भइरहेको जानकारी दिँदै उनले नागरिकलाई निरोगी बनाउन प्रत्येक वडाबाट नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
नमोबुद्धका ११ वटै वडामा प्रशासनिक भवन बनेको नगरपालिकाले जानकारी दिएको छ ।
