चपौली(सिन्धुली) — कलाघर सिन्धुलीको आयोजनामा भइरहेको राष्ट्रिय कला महोत्सव अवलोकन गर्नेको संख्या दैनिक बढ्दो छ । मौसमका कारण पहिलो दिन अवलोकन गर्नेको संख्यामा केही कमी भए पनि अहिले उत्साहजनक रहेको राष्ट्रिय कलाघर सिन्धुलीले जनाएको छ ।
विश्वका १९५ देशलाई कलामार्फत एकतृत गरी वर्ल्ड आर्ट हाउसको रुपमा विकास गर्ने दीर्घकालीन योजनासहित ७ दिने कला महोत्सवमा ऐतिहासिक पूरातात्विक सामग्रीको प्रदर्शनीका साथै सांस्कृतिक सम्पदाले सजाइएको छ ।
राट्रिय कलाघरलाई कलाकारको आश्रम, कला आविष्कार सृजना केन्द्र तथा सांस्कृतिक विश्वविद्यालय बनाउन कला महोत्सवको आयोजना गरिएको परिकल्पनाकार तथा कलाघरका अध्यक्ष सुमन थापामगरले बताए ।
महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरुको नमुना, मौलिक बाजागाजा, जातजातीहरुको झाँकी, रागटे पिङ, चित्रकला, अर्गानिक खानेकुरा, चियादानीमा पकाएको चिया, घरजत्रै ठेकीबाट मोही लगायत महोत्सवका आकर्षण छन् ।
महोत्सवमा खैंजडी भजन, लोकदोहोरी, राष्ट्रिय कलाकारहरुको प्रस्तुति भइरहेको छ । कलाघर पुग्नको लागि बीपी राजमार्गको सोलाभन्ज्याङबाट सिन्धुलीगढी हुँदै ७ किलोमिटर पार गरेर चपौली पुग्नुपर्ने हुन्छ । कलाघरसम्म नै कालोपत्रे सडक भएकाले यात्रा सहज रहेको अध्यक्ष थापामगरले जनाए ।
![Festivities at Sindhuli's Kalaghar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kala2-sindhuli-1342025064853-1000x0.jpg&w=1001&h=0)