काभ्रे — वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमण वर्ष २०८२’ सुरु हुने भएको छ । काभ्रेको बनेपा मण्डनदेउपुर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट भ्रमण वर्ष सञ्चालन गर्न लागिएको हो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा र बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नगरकोट भ्रमण वर्ष सञ्चालन गर्न लागिएको हो ।
नगरकोट भ्रमण वर्षको कार्यक्रमको तयारी सम्पन्न भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । ‘नगरकोट इज मोर देन सनराइज’ भन्ने नारासहित सुरु हुन लागेको नगरकोट भ्रमण वर्षको औपचारिक उदघाटन २०८२ वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । नगरकोटको बतासे डाँडामा रहेको नगरकोट सनराइज भ्यु पार्कमा उदघाटन समारोह वैशाख ३ गतेसम्म चल्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नगरकोट भ्रमण वर्षले यस क्षेत्रको पर्यटन, कृषि पर्यटन, सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन् । नगरकोट क्षेत्र तथा यससँग जोडिएका चारै नगरपालिकामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक मठमन्दिर, पौराणिक सम्पदा, सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखिएको छ ।
यस भ्रमण वर्षमा कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्ष उद्घाटन अवसरमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी, कला चित्रांकन, कला संग्रहालय स्थापना लगायतका गतिविधि हुनेछन् । वैशाख २ गते लोकदोहोरी समूह ‘इन्द्रेणी’, र वैशाख ३ गते गायक प्रकाश सपुत र स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् ।
साथै, होटल व्यवसायीहरूले नयाँ वर्षको अवसर पारेर वैशाख १, २ र ३ गते १५ प्रतिशत छुट तथा भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । काठमाडौं–नगरकोट सिधा बस सेवा पनि सुरु गरिएको छ ।
