काभ्रे — विभिन्न स्थानमा हतियार देखाई लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे-२ कर्थली बस्ने४९ वर्षीय वीरबहादुर तामाङ, ४२ वर्षीय बुद्धिमान तामाङ, ओखलढुंगाको खिजितेम्बा-९ का ५२ वर्षीय महेशकुमार खड्का र उदयपुरको कटारी-१४ का ३६ वर्षीय राजुकुमार दनुवार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार, विभिन्न मिति र समयमा खुकुरी, बन्चरो तथा नक्कली पेस्तोल देखाई सुनका गरगहना डाँका चोरी गरेको घटनामा संलग्नहरुलाई खोजतलास गर्ने क्रममा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट काठमाडौंबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बुद्वीमान, महेशकुमार, वीरबहादुर र राजुकुमारले प्रारम्भिक सोधपुछको क्रममा खुकुरी, बन्चरो र नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई धम्क्याउने, डरत्रास सिर्जना गर्ने तथा घर, पसल, होमस्टे र कृषि फर्महरूमा लुटपाट गरेको स्वीकार गरेका छन् । उनीहरुले विभिन्न समयमा पनौती-५ चौकोटडाँडास्थित धर्मगोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरबाट नगद ४० हजार, धुलिखेल-९ को रामकोटका दिपकबहादुर तामाङ सुनका रिङ र नगद ६५ हजारसमेत चोरी गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बनेपा-३, टनचोक मानेडाँडास्थित लोप्साङ लामाले संचालन गरेको लामा होमस्टेबाट सुनका गरगहना र नगद ३ लाख २० हजार, एउटा मोबाईल चोरी गरिएको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।
