हेटौंडा — हेटौंडा उपमहानगरपालिका—१६ का ३७ वर्षीय मिलन दंगालको हत्या गरेको आरोपमा प्रहरीले चार युवतीसहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाउँपालिका—३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुर गोदावरी नगरपालिका—१२ का २४ वर्षीय किसन दानी, बारा निजगढ नगरपालिका—३ की १९ वर्षीया इनिशा तिमल्सेना रहेका छन् । यसैगरी, मकवानपुर हेटौंडा उपमहानगरपालिका—१५ की १९ वर्षीया सुस्मिता तामाङ, सिन्धुली मरिन गाउँपालिकाकी–२० वर्षिया शर्मिला मुक्तान, सिन्धुलीकै १९ वर्षीया रोजिना तामाङ र हेटौंडा–१६ का २८ वर्षीय सुजन पौडेल पक्राउ परेका छन् ।
मकवानपुरको बागती गाउँपालिका —८ भुवनचुलिस्थित हेटौंडा–धरान चतरा सडकको नालामा बुधबार बिहान दंगालको शव फेला परेको थियो । नालामा उनको शव घोप्टो परेको अवस्थामा थियो । भुवनचुलीमा होटल पनि रहेको र त्यसै स्थानमा झैझगडा भएर उनको हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ज्यान सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।
